राजनीति

पार्टीकरणमा लाग्यो सरकार : महत

काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले केपी ओली नेतृत्वको सरकार राज्यका सबै निकायलाई पार्टीकरण गर्न लागिपरेको बताएका छन्। अदालतदेखि सबै निकायमा आफ्नो हैकम कायम गर्न लामो सयमदेखि रिक्त प्रधानन्यायाधीश नियुक्त गर्न सरकारले चासो नदिएको उनले बताए।

विश्वविद्यालयलगायत विभिन्न निकायका पदाधिकारीलाई राजीनामा गर्न विभिन्न पक्षले दबाब दिइरहेको सुनाउँदै उनले बिहीबार पत्रकारसँग भने, ‘सरकार मुलुकमा देखिएको विधिविहीनतालाई कानुनीरुपमा समाधान गर्न होइन, नियन्त्रण गर्न उद्यत छ।’ त्यसकै लागि सरकार आफ्नो पक्षमा संसद्मा दुईतिहाइ बहुमत पु-याउन उद्यत रहेको सुनाउँदै उनले भने, ‘प्रतिस्पर्धा र गुणस्तर होइन, सबै निकायलाई कार्यकारीको छायामा पार्न खोजिँदैछ।’

विगतमा गठन भएका कम्युनिस्ट नेतृत्वका सरकारले भन्दा कांग्रेस नेतृत्वको सरकारले राम्रो काम गरेको दाबी महतले गरे। ‘यति नै पर्याप्त हो भन्ने होइन, अझै धेरै गर्न सकिन्थ्यो,’ उनले भने, ‘कम्युनिस्टहरु जति गरे त्योभन्दा धेरै विज्ञापन गर्न सफल भए, हामीले त्यसमा ध्यान दिन सकेनौं।’ कम्युनिस्टहरुले मुलुकमा संस्थागत भ्रष्टाचार गरेको बताउँदै महतले थपे, ‘हाम्रा तर्फबाट व्यक्तिगत केही कमीकमजोरी भयो होला, संस्थागत भ्रष्टाचार छैन।’

सरकारले ल्याएको बजेट कुनै कार्यक्रममा केन्द्रित नभएको आरोप लगाउँदै महतले त्यसले लक्ष्यप्राप्ति गर्न नसक्ने दाबी गरे। कृषि, पर्यटन, रोजगारीसहितका विषयमा बजेटले लिएको लक्ष्य पूरा हुन नसक्ने दाबी गर्दै महतले भने, ‘जनता आवास कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार अभियानको कार्यकर्ता पोस्नेबाहेक कुनै काम छैन।’

प्रदेश र स्थानीय तहको निर्वाचन भइसकेको अवस्थामा सांसदलाई चार करोड दिन आवश्यक नरहेको दाबी गर्दै उनले भने, ‘कुनै सिद्धान्तबिनै प्रदेश र स्थानीय तहलाई बजेट विनियोजन गरीएको छ, जुन गलत छ।’

नौ समिति गठन
नेपाली कांग्रेसले जिल्ला सभापतिहरुको भेलाको तयारीका लागि नौ समिति गठन गरेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माको उपस्थितिमा बिहीबार मकवानपुरमा बसेको बैठकले विभिन्न समिति गठन गरेको हो।

हेटौंडामा असार ५ देखि ७ गतेसम्म हुने जिल्ला सभापति भेलाको तयारीका लागि प्रदीप कोइरालालाई प्रचार, आनन्द पराजुलीलाई सांस्कृतिक एवं अतिथि समन्वय, गोपीलाल विश्वकर्मालाई मञ्च व्यवस्थापन, अर्जुन तिवारीलाई स्वयंसेवक, बुद्ध लामालाई सचिवालय एवं मिडिया सेन्टर, राजीव सुवेदीलाई स्वास्थ्य, भरत पराजुलीलाई आवास व्यवस्थापन, रामबाबु बानियाँलाई खाद्यान्न प्रबन्ध र विष्णुप्रसाद लामिछानेलाई प्रदेश संयोजकको जिम्मा तोकिएको छ।

कांग्रेस जोगाउन गुरुङको अभियान
कांग्रेसका पूर्वमहामन्त्री कुलबहादुर गुरुङले मुलुकको राष्ट्रियता, लोकतन्त्र र कांग्रेसलाई जोगाउन अभियान सञ्चालन गर्ने जनाएका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजय भएसँगै नेता तथा कार्यकर्तामा निराशा छाएको सुनाउँदै बताउँदै गुरुङले कांग्रेसमा पुनर्जागरण ल्याउन आवश्यक रहेको बताएका छन्। ‘यो देशमा कांग्रेस समाप्त भएका दिन प्रजातन्त्र पनि समाप्त हुन्छ, राष्ट्रियता पनि समाप्त हुन्छ,’ उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘नेपालको राष्ट्रियता, प्रजातन्त्र जोगाउन र नेपाली कांग्रेसलाई पहिलाकै अवस्थामा फर्काउन सकिन्छ कि भनेर मैले केही भूमिका निर्वाह गर्न सक्छु कि भनी लागेको छु।’

बिपी कोइरालाको विचारलाई अघि बढाउँदै पार्टी संगठन मजबुत गराउन शुक्रबार प्रदेश नम्बर ३ को भेला काठमाडौंमा गर्न लागेको उनले उल्लेख गरेका छन्। प्रदेश नम्बर १ र २ को भेला विराटनगर र जनकपुरमा जेठभित्रै गर्ने तयारी गुरुङको छ।

प्रकाशित: १८ जेष्ठ २०७५ ०२:१६ शुक्रबार

पार्टीकरणमा लाग्यो सरकार महत