राजनीति

त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप, ३ घाइते ३ पक्राउ

काठमाडौं- त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघका दुई समूहबीच झडप हुँदा ३ जना सख्त घाइते भएका छन्। कलेजमा संगठनका अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दन काफ्ले समूहबीच आन्तरिक विवाद रहेको थियो। दुई समूहबीच खुकुरी तथा रड हानाहान भएको प्रहरीले जनाएको छ।

 

झडपपछि प्रहरीले पछ्याउँदै गणेशथानबाट  सहदेव नेपाल, सौरभ श्रेष्ठ र अनिल लामालाई हतियार सहित पक्राउ गरेको छ। उनीहरुलाई प्रहरी वृत्त दरवारमार्गमा राखिएको छ।

यस्तै कौशल दाहाल, अजय गजुरेल र गौरबहादुर रतौले घाइते भएका छन्। उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।  कलेजमा पद बाँडफाँटको विषयमा दुई समूहबीच विवाद रहँदै आएको छ।

कौशल दाहाललाई महरले अध्यक्षको मान्यता दिएपछि काफ्ले पक्षका सान्त सिवाकोटी असन्तुष्ट रहँदै आएका थिए।

प्रकाशित: १६ जेष्ठ २०७५ ११:४७ बुधबार

त्रिचन्द्र कलेजमा नेवि संघका दुई समूहबीच झडप घाइते पक्राउ