राजनीति

उपप्रमुख अझै घुम्टोमा

शनिबार आयोजित कार्यक्रममा घुम्टो ओढेरै बसेका सर्लाहीको दक्षिणी क्षेत्रस्थित स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरू। तस्बिर : टंक/नागरिक

सर्लाही – ‘दक्षिणी क्षेत्रका स्थानीय तहका उपमेयर एवं उपाध्यक्षज्यूहरू आफै भर्खर पर्दा (घुम्टो) बाहिर आउने प्रयासमा हुनुहुन्छ’, शनिबार दिउँसो उत्तरी क्षेत्रस्थित मिलनचोकमा आयोजित एक कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर अभय सिंहले भने, ‘भर्खर घरबाट बाहिर निस्कनु भएको छ, त्यसैले उहाँहरूको क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिन जरुरी छ।’

दिगो शान्तिका लागि उन्नत सम्बन्ध भन्ने नाराका साथ जिल्लामा प्राकृतिक स्रोतमा देखिएका विवाद मिलाउँदै द्वन्द्व रुपान्तरणका लागि सहजीकरण गर्दै आएको रूपान्तरण केन्द्र नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै बलरा नगरपालिकाका मेयर सिंहले यस्तो धारणा राखेका हुन्। जिल्ला समन्वय समितिको संयोजन रहेको कार्यक्रममा सिंहले आम जनतालाई न्याय दिने न्यायिक समितिको संयोजकको भूमिकामा रहेका स्थानीय तहका उपप्रमुख एवं उपाध्यक्षहरू नै घुम्टो बाहिर आउने प्रयासमा रहेकाले उनीहरूलाई बृहद् जानकारीको आवश्यक रहेको बताए।

‘उत्तरी क्षेत्रका स्थानीय तहका न्यायिक समितिका संयोजकहरूमा त्यस्तो समस्या छैन,’ उनले भने, ‘तर दक्षिणतर्फ धेरै समस्या छन्, त्यसैले आयोजक संस्थालाई हाम्रोतिर पनि क्षमता अभिवृद्धिका लागि बृहद् कार्यक्रम लिएर आउन अनुरोध गर्दछु।’

पहिला–पहिला स–साना झैझगडामै प्रहरी कार्यालय जाने प्रचलन रहेकामा अहिले यस्ता विवाद लिएर स्थानीय तहमा आउनेको चाप बढेको छ। तर स्थानीय तहमा गठित न्यायिक समितिकै संयोजक (उपमेयर एवं उपाध्यक्षहरू) नै अझै घुम्टोमा छन्।

पहिला–पहिला स–साना झैझगडामै प्रहरी कार्यालय जाने प्रचलन रहेकामा अहिले यस्ता विवाद लिएर स्थानीय तहमा आउनेको चाप बढेको छ। तर स्थानीय तहमा गठित न्यायिक समितिकै संयोजक (उपमेयर एवं उपाध्यक्षहरू) नै घुम्टोबाट निस्कने प्रयासमा रहेकाले त्यसतर्फ ध्यान दिनुपर्ने माग मेयर सिंहले राखेका हुन् । तराई क्षेत्रमा महिलाले अझै घुम्टो ओढ्ने चलन छ।

केन्द्रले सर्लाहीका २० वटै स्थानीय तहका प्रमुख/अध्यक्ष एवं उपप्रमुख/उपाध्यक्ष, सरोकारवाला सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि तथा प्रमुख राजनीतिक दलका नेताहरूलाई भेला गराइ अभिमुखीकरण कार्यक्रम राखेको हो। कार्यक्रममा मन्तव्य राख्न घुम्टो ओढेरै मञ्चमा उभिएकी दक्षिणी क्षेत्रस्थित ब्रह्मपुरी गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी यादवलाई निकै सकस परेको थियो भने लगतै उत्तरी क्षेत्रस्थित लालबन्दी नगरपालिकाकी उपमेयर शान्ति लामाले भने हँसिलो मुहारसहित निर्धक्कसँग फरर आफ्ना धारणा राखिन्। गीतादेवी र शान्तीको प्रस्तुतीमा भिन्नता देखेपछि बलराका मेयर सिंहले मन्तव्यका क्रममा दक्षिणका उपप्रमुख एवं उपाध्यक्षलाई क्षमता अभिवृद्धिको माग गरेका हुन्।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् डिल्लीप्रसाद उप्रेतीले नयाँ संविधानले महिलालाई ठूलो जिम्मेवारी दिएको बताए। ‘अहिले जनताको प्रत्यक्ष र नजिकको सम्बन्ध रहने स्थानीय तहमा त महिलालाई नै न्यायमूर्तीको भूमिका दिइएको छ,’ उनले भने, ‘जनताको ठूलो आशा र भरोसा रहने न्यायमूर्तीले जिम्मेवार हुनु जरुरी छ।’

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिकी उपसंयोजक जमुना पौडेलले सदियौंदेखि पछाडि पारिएका महिलाले हाल स्थानीय तहमा ठूलो जिम्मेवारी पाएको र जिम्मेवारी सही ढंगले निर्वाह गर्न क्षमता अभिवृद्धि जरुरी रहेको विचार व्यक्त गरिन्।

प्राकृतिक स्रोत तथा द्वन्द्व रूपान्तरण केन्द्र नेपालकी राष्ट्रिय स्रोत व्यक्ति एवं सर्लाही समन्वयकर्ता पार्वती पाख्रीनले प्राकृतिक स्रोतमा हुने विवाद समाधानका लागि संस्थाले सम्बन्धित पक्षहरूबीच सहजीकरण गर्दै आइरहेको जानकारी दिइन्। ‘उत्तरी क्षेत्रका स्थानीय तहमा विवाद समाधानका लागि न्यायिक समितिका संयोजकहरू बढी सक्रिय र प्रभावकारी देखिनुभएको छ’, उनले भनिन्, ‘दक्षिणी क्षेत्रमा भने संयोजकहरूको भूमिका अत्यन्त कमजोर देखिन्छ, उहाँहरूलाई नै क्षमता अभिवृद्धिका लागि विशेष ध्यान दिन आवश्यक छ।’

प्रकाशित: १३ जेष्ठ २०७५ ०३:३५ आइतबार

उपप्रमुख घुम्टोमा