राजनीति

जिल्ला सभापतिको भेला हेटौंडामा

काठमाडौं – नेपाली कांग्रेसले जिल्ला सभापतिको भेला असार ५ देखि ७ गतेसम्म मकवानपुरको हेटौंडामा गर्ने भएको छ। वैशाख १६ गते सम्पन्न केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले आइतबार जिल्ला सभापतिहरुको भेलाको स्थान र मिति तय गरेको हो।

‘नेपाली केन्द्रीय समितिको निर्णय बमोजिम नेपाली कांग्रेस जिल्ला सभापतिहरुको राष्ट्रिय भेला २०७५ असार ५देखि ७ गते मकवनापुरको हेटौंडामा हुने भएकाले सम्बन्धीत सबैको जानकारीका लागि अनुरोध गरिन्छ,’ पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

जेठ अन्तिम साताभित्र जिल्ला सभापतिको भेला गर्ने केन्द्रीय समितिको निर्णय अनुसार कांग्रेसले २७ देखि तयारी गरेको थियो। सोही मितिमा नेपाल टे«ड युनियन कांग्रेसको महाधिवेशन तय भएकाले कांग्रेसले सभापतिको भेला एक साता पर सारेको हो।

जिल्ला सभापतिहरू प्रदेश तहको भेला गरेर राष्ट्रिय भेलाको एजेन्डा तय गर्न लागि परेका छन्। सातैवटा प्रदेशमा सभापतिहरुको भेला गरेर पार्टी संगठन सुदृढिकरण, विधान संशोधनसहितका विषयमा साझा एजेन्डा लैजाने तयारी गरेका छन्। यसैबीच आन्तरिक किचलोका कारण कांग्रेसले महासमिति वैठकको मिति र स्थानसहित संगठन सुदृढीकरणको कार्यक्रम, विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्न अझै सकेको छैन।

प्रकाशित: ७ जेष्ठ २०७५ ०१:३३ सोमबार

जिल्ला सभापतिको भेला हेटौंडामा