राजनीति

अहंकारको वृक्षमा विनाशको फल नलागोस्

नेपाल प्रेस युनियन बाँकेले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा। तस्बिर : अर्जुन/नागरिक

नेपालगन्ज – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वलाई अहंकार नपाल्न सुझाव दिएका छन्। शर्माले ठुला दुई कम्युनिस्ट पार्टीबीचको एकताले लोकतन्त्र बलियो बनाउन मद्दत पु-याउने टिप्पणी गर्दै भने, ‘तर दम्भ जन्म्यो भने त्यसले विनाश निम्त्याउँछ।’ नेपाल प्रेस युनियन बाँकेले शुक्रबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा प्रवक्ता शर्माले थपे, ‘सत्ताको द्वन्द्वभन्दा सत्ताको दम्भ बढी खतरा हुन्छ, भोलि त्यो खालको अवस्था उहाँहरु (नेकपा) भित्र मनोवैज्ञानिक रुपमा आउन सक्छ, त्यसैले त्यो बेलामा अहंकारको वृक्षमा विनाशको फल लाग्छ।’ पार्टी एकीकरणका क्रममा प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्तिप्रति शर्माले आपत्ति जनाए।

‘एकता गर्दैगर्दा सबैभन्दा गम्भीर अभिव्यक्ति प्रधानमन्त्रीबाट हिजो आयो, मुलुकमा अब प्रतिपक्षी वा प्रतिस्पर्धी दल रहेन भनेर कुनै देशको प्रधानमन्त्रीले भन्छ भने त्यसको पछिल्तिरको मनोवैज्ञानिक पृष्ठभूमि के हो? कुन मनोविज्ञानले त्यो कुरा बोलियो’, प्रश्न गर्दै शर्माले थपे, ‘हामीले स्थापना गरेको संसदीय व्यवस्थामा प्रतिपक्ष हुँदैन?’

उनले जिम्मेवार राजनीतिज्ञले भावी पिँढीको चिन्ता गर्नुपर्ने बताउँदै थपे, ‘नेपाली कांग्रेसले भावी पिँढीको चिन्ता गरिरहेको छ। हामीलाई भावी पिँढीको चिन्ता छ, भावी नेपालको चिन्ता छ, भावी चुनावको चिन्ता छैन, प्रधानमन्त्रीजीलाई भावी चुनावको चिन्ता अहिलेदेखि नै सुरु भइसकेको छ।’ नेपाली कांग्रेसलाई रुपान्तरित गरेर ठीक समयमा निर्वाचन जित्ने र हार्ने कुराबारे बोल्ने शर्माले प्रस्ट्याए।

मुलुकमा दलहरुको विभाजनले लोकतन्त्रलाई कमजोर गर्ने र एकताले बलियो बनाउने तर्क गर्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकतालाई नेपाली कांग्रेसले शुभकामना र बधाई दिइसकेको बताए। ‘उहाँहरुको एकता अगाडि बढ्दै गर्दा साँचो अर्थमा समग्रमा सबै कम्युनिस्टलाई अझै एकै ठाउँमा ल्याउने सफलता मिलोस्। संसदीय व्यवस्थाको पार्थिव शरीरमाथि सर्वहाराको अधिनायकवादी शासन स्थापना गर्छौं भन्ने संकल्प लिएर हिँडेका कयौं व्यक्ति, नेता आज संसदीय व्यवस्थाको नेतृत्व गर्दै हुनुहुन्छ, तर त्यो मूल बाटोभन्दा बाहिर पनि कम्युनिस्ट पार्टीको क्रियाशीलता छ’, शर्माले भने, ‘उनीहरुलाई पनि हिंसाको बाटोभन्दा शान्तिको बाटोबाट, संसदीय परिपाटीकै बाटोबाट हिँडाल्ने सफलता मिलोस्।’ संसदीय व्यवस्थाबाट नै मुलुकको भविष्य सुनिश्चित गर्न सकिने वातावरण बनाउनतर्फ लाग्न पनि उनले नेकपा नेतृत्वलाई सुझाव दिए।

जिल्लासभापतिको भेला चाँडै
कांग्रेस प्रवक्ता शर्माले चाँडै नै पार्टीका जिल्लासभापतिहरुको भेला डाकिने बताए। त्यसपछि राष्ट्रिय रुपमा जागरण अभियान घोषणा गरेर भदौमा महासमितिको बैठक आयोजना गरी कांग्रेसलाई रुपान्तरित गरेर अगाडि बढाउने योजना रहेको जानकारी उनले दिए। पार्टीभित्रको फरक मतलाई मर्यादित रुपले व्यवस्थापन गरेर पार्टी अघि बढाउने उनले बताए। ‘फरक मतको मर्यादित व्यवस्थापन भयो भने त्यसले लोकतन्त्र र सम्बन्धित दललाई सुन्दर बनाउँछ, व्यवस्थापन राम्रो गर्न सकिएन भने त्यसले समस्या निम्त्याउँछ’, शर्माले भने, ‘त्यसकारण कांग्रेसभित्र रहेका समस्या व्यवस्थापन गरेर पार्टी अघि जान्छ।’ पार्टी कामको सिलसिलामा प्रदेशका विभिन्न जिल्ला जाने क्रममा कांग्रेस प्रवक्ता शर्मा नेपालगन्ज आइपुगेका हुन्। उनी शुक्रबार बैतडी प्रस्थान गरेका छन्। त्यसपछि दार्चुला र बझाङको कार्यक्रममा सहभागी भएर राजधानी फर्किने योजना छ।

प्रकाशित: ५ जेष्ठ २०७५ ०१:१५ शनिबार

अहंकारको वृक्षमा विनाशको फल नलागोस्