राजनीति

‘हिजो युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो, अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा’

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरु विचार, दर्शन र सिद्धान्तबाट स्खलित हुँदै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन्।

विहीबार राष्ट्रिय सभागृहमा आयोजित एमाले–माओवादी एकीकरण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले एकीकृत पार्टीले स्खलनलाई निमिट्यान्न पार्ने बताए।

‘संसारलाई हल्लाउने गरी इतिहासमा धेरै कम्युनिष्ट पार्टीले संघर्ष गरे। तर सत्तामा पुग्दा भ्रष्ट, स्खलित, आदर्शहिन भएका छन्। हामीले संकल्प लिनैपर्छ, हामी त्यस्तो हुन दिने छैनौ, देशको निम्ति समर्पित हुने पार्टी हुनेछ’, उनले भने– ‘२१ औं शताब्दीका सम्भावना र चुनौतीलाई बुझ्न सक्ने एउटा नयाँ कम्युनिष्ट पार्टी बनेको छ। जनताका निम्ति समर्पित हुनुबाहेक अन्य विकल्प छैन्। कम्युनिष्ट स्खलनविरुद्ध यो एकता सफल हुनैपर्छ।’ 

आफूले युद्धको ऐतिहासिक नेतृत्वको अवसर पाएको भन्दै दाहालले थपे– ‘हामी ६० वरिपरि छौं, ६० वर्ष नाघेका छौं। पञ्चायत र निरंकुशताविरुद्ध कम्युनिष्ट आदर्श र जनताको सेवाका निम्ति भोकभोकै २० औं वर्ष खट्यौं। अझ हिजोको युद्धको मेरो  ऐतिहासिक नेतृत्वमा म मर्न पाइन भनेर झगडा हुन्थ्यो। मर्ने लडाईमा म पहिला जान पाउ, मलाई नै पहिला पारियोस भन्ने प्रतिस्पर्धा हुन्थ्यो। तर अहिले म सांसद हुनैपर्यो। मन्त्री हुनैपर्ने, प्रधानमन्त्री हुनुपर्ने भन्ने प्रतिस्पर्धा देखिएको छ, कमरेडहरु यसलाई निमिट्यान्न पारेर आदर्श राजनीति स्थापित गर्नुपर्छ।’

पदका लागि प्रतिस्पर्धा हुने परिपार्टी अन्त्य हुनुपर्ने भन्दै दाहालले हामी सुशासन  समृद्धि जनताको खुसीयालीमा समर्पित हुनुपर्छ। विकास, समृद्धि र समाजवादको आधार तयार पार्नका निम्ति खट्नुपर्छ भने।

विस २०१९ सालबाट विभाजनको पीडा भोग्दै आएको कम्युनिष्ट आन्दोलनले आज आएर एउटा छलाङ मारेको उनको भनाई थियो। 

प्रकाशित: ३ जेष्ठ २०७५ १४:२६ बिहीबार

युद्धमा मर्न पाइन भनेर झगडा हुन्थ्यो अहिले सांसद–मन्त्री हुन प्रतिस्पर्धा