राजनीति

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई

काठमाडौं– नवगठित नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई सम्झिएका छन्। 

विहीबार अपराह्न राष्ट्रिय सभागृहमा आयोजित एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘पृथ्वीनारायण शाहले भनेका छन् ‘साना दुःखले आर्ज्याको मुलुक होइन’, उहाँले मुलुकका लागि गरेको दुःखजस्तै हाम्रो एकता पनि सानो दुःखले भएको होइन।’

कम्युनिष्ट एकता विगतको आन्दोलन र त्याग तपस्याले सम्भव भएको बताउँदै नेता नेपालले अघि थपे– ‘सानो दुःखले एकता भएको होइन। लामो उतार चढाव, कम्युनिष्ट आन्दोलन, विगतको त्याग तपस्याको फल हो। आजको समयमा हामी यो निष्कर्षमा पुग्यौं की नेपाल कम्युनिष्ट आन्दोलनको उर्वरा भुमी हो। जस्तोसुकै चुनौती सामना गर्ने दृढताले नै हामीलाई आजको विन्दुमा पुर्याएको छ।’ 

एकताको सन्देश दिएर नेपालका कम्युनिष्टले इतिहास कायम गरेको दाबी गर्दै नेपालले समृद्ध नेपाल र सुखी नेपालको सपना साकार पार्नुपर्ने बताए।

‘कसैले कल्पना नगरेको २४० वर्ष पूरानो राजतन्त्र, हजार वर्ष पूरा सामन्ती शासनलाई हामीले डस्टविनमा फ्याकेका छौं। इतिहासमा सिमित भएका छन्’, उनले भने– ‘अब समृद्ध नेपाल र सुखी नेपालको सपनालाई सकारा पार्नुपर्ने छ, यसको लागि कम्युनिष्ट पार्टी दृढताका साथ अघि बढ्नेछ। जनताका माझ लोकप्रिय बनाउनुपर्छ, जनताको आलोचना सुन्नुपर्छ, जनताको सुख र दुःखमा साथ दिनुपर्छ।’ 

 

प्रकाशित: ३ जेष्ठ २०७५ १२:४७ बिहीबार

एमाले–माके एकीकरण समारोहमा माधव नेपालले सम्झिए पृथ्वीनारायण शाहलाई