राजनीति

नेविसंघ सिरहामा विवाद

लहान – नेपाल विद्यार्थी संघ सिरहामा दुई जनालाई अध्यक्षको जिम्मेवारी दिएपछि विवाद उत्पन्न भएको छ। 

संस्थापन पक्षका मानिने नेविसंघका केन्द्रीय सदस्य आशिष कार्कीले शीतल चौधरीलाई र नेता कृष्ण सिटौला पक्षधर मानिने माधव ढकालले मो. मुस्ताकलाई नेविसंघ सिरहाको अध्यक्ष पदमा मनोनित गरेको पत्र पठाएपछि विवाद बढेको नेवि संघका एक स्थानीय नेताले बताए। 

चौधरी र मुस्ताकलाई मनोनित गरेको पत्र पठाउने दुबै नेताले आफूलाई सिरहा जिल्लाको आधिकारिक केन्द्रीय प्रतिनिधिको रुपमा दाबी गरेका छन्। नेवि संघको विधानमा जिल्ला अध्यक्ष जिल्ला अधिवेशनबाट निर्वाचित हुने व्यवस्था रहेपनि लामो समयदेखि नेवि संघ सिरहाको अधिवेशन हुनसकेको छैन्। 

यता नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जिल्ला अध्यक्ष मनोनयनको विषयमा आफूलाई नेविसंघको कुनै केन्द्रीय पदाधिकारीले समन्वय नगरेको बताए।   (रासस)

प्रकाशित: २ जेष्ठ २०७५ ०७:१६ बुधबार

नेविसंघ सिरहामा विवाद