राजनीति

‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन माग

काठमाडौं – प्रदेश नं २ का सांसदहरूले ‘तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम’ ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेका छन्।

सो प्रदेशबाट संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलका सांसदहरूले मंगलबार प्रधानमन्त्री ओलीलाई भेटी देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गर्दै आएको प्रदेश नं २ को सामाजिक र आर्थिक विकासका लागि प्राथमिकता दिन आग्रह गरेका हुन्।

उनीहरूले शिक्षा, स्वास्थ्य, कृषि र उद्योगको विकास, बाढी पहिरो नियन्त्रण, सडक, खानेपानी, नदी तटबन्ध तथा व्यवस्थापन, चुरे संरक्षणका विषयमा पनि आगामी नीति, कार्यक्रम र बजेटले सम्बोधन गर्नुपर्ने माग गरेको टोलीमा रहेका राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

नेकपा (एमाले) का सांसद सुमनराज प्याकुरेलका अनुसार प्रधानमन्त्री ओलीले मागहरू जायज र आवश्यक भएको र आफू तराई मधेशका साथै सिङ्गो मुलुकको विकासका लागि गम्भीर रहेको बताउँदै प्राप्त सुझावलाई कार्यान्वयन गर्ने विश्वास दिलाएका थिए।  (रासस)

प्रकाशित: १ जेष्ठ २०७५ ०८:५७ मंगलबार

तराई मधेशको समृद्धिसँग प्रधानमन्त्री कार्यक्रम ल्याउन माग