राजनीति

‘नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार छ’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई आफ्नो आवश्यकता र प्राथमिकताका साथ अघि बढ्न सुझाव दिएका छन्। 

काठमाडौं महानगरपालिकाद्वारा शनिबार आयोजित नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै मोदीले नेपालमा लोकतान्त्रिक सरकार आएको र ‘नेपाल आफ्नो आवश्यकता र प्राथमिकताका साथ अगाडि बढोस्’ भनी सुभकामना दिए।

नेपालमा आशा, उज्जव भविष्य र समृद्ध नेपाल सुखी नेपालको माहोल रहेको भन्दै यसलाई साकार पार्ने शक्ति नेपाली जनतामा अन्तरनिहित रहेको बताए। 

समृद्धि र विकासको मञ्जिल अझै टाढा रहेको बताउँदै मोदीले भने– ‘माउन्ट एभरेष्टको बेस क्याम्प पुगेका छौं, शिखरमा पुग्नुपर्छ। शिखरमा पुग्न जसरी शेर्पाको सहयोग र योगदान रहन्छ, नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्नका लागि तयार छ।’

नेपालको सफलताका लागि भारत काँधमा काँध मिलाएर अघि बढ्ने प्रतिबद्धता जनाउँदै मोदीले थपे– ‘नेपालको सफलता नै भारतको सफलता हुनेछ, नेपालको खुसी नै भारतको खुसी हुनेछ।’

जनकपुरका साथै काठमाडौंमा पनि नागरिक अभिनन्दन पाएका मोदीले काठमाडौंलाई भारतसँग जोड्न रेल मार्गका लागि डिपीआरको प्रक्रिया अघि बढेको जानकारी समेत दिए।

उनले आफूले जनकपुर, मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्न पाएको स्मरण गर्दै अर्काेपटक बुद्ध जन्मभुमी लुम्बिनी आउने बाचा पनि गरे। ‘मेरो अर्काे यात्रामा  भगवान गौतम बु्द्धको जन्मभुमी लुम्बिनी जाने प्रयास गर्नेछु’, मोदीले भने। 

प्रकाशित: २९ वैशाख २०७५ १०:५४ शनिबार

नेपालको विकास यात्रामा भारत शेर्पाको काम गर्न तयार