राजनीति

‘मोदी भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने’

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणमा १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले मोदीको भ्रमणमा नेपाल र भारतबीच रहेको सन् १९५० को सन्धि र सीमा विवादबारे छलफल हुने जानकारी दिए।

मंगलबार रिपोर्टर्स क्लबद्वारा आयोजित मन्त्री पण्डितले राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय हितका विषयमा कुरा गर्ने बताए। विगतमा गरिएका समझदारी तथा निर्णयलाई कार्यान्वयन गराउनका लागि अहिले हुन लागेको प्रधानमन्त्री मोदीको भ्रमणलाई महत्वपूर्णरुपमा हेरिएको उनको भनाइ छ। 

मोदीलाई जनकपुर विमानस्थलमा वरिष्ठ मन्त्रीले स्वागत गर्ने जानकारी दिँदै जनकपुरको जानकी मन्दिरमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्तरुपमा पूजा गर्ने कार्यक्रम रहेको जानकारी गराए। 

नेकपा (माओवादी केन्द्र)का नेता टोपबहादुर रायमाझीले भारतसँग सांस्कृतिक, आर्थिक, राजनीतिकरुपले नजिक हुनुको नाताले प्रधानमन्त्री मोदीको भ्रमण सफल बनाउनका लागि सबै पार्टीले भूमिका निर्वाह गर्नुपर्ने बताए। 

पूर्वराजदूत एवं परराष्ट्रविद् डा शंकर शर्माले विगतमा दुवै देशबीच केही उतारचढावका सम्बन्ध रहेको भएपनि अहिले सम्बन्ध सुधारको बाटोमा रहेकाले नेपालले आगामी दिनमा सम्बन्ध सुदृढ र राम्रो बनाउनुपर्नेमा जोड दिए। 

नेपालमा सबैभन्दा बढी लगानी भारतकै रहेको बताउँदै उनले भने, ‘भारतसँग दुई तिहाइको व्यापार सम्बन्ध छ, हामीबीच राजनीतिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक सबै सम्बन्ध छन्, जनकपुरमा रामायण सर्किट बनाउने अवधारणा राम्रो छ, मुक्तिनाथ र जनकपुर मोदीजी जाने भनेपछि धार्मिक पर्यटनको पनि विकास हुन्छ, यो सुखद पक्ष हो।’ 

प्रकाशित: २५ वैशाख २०७५ १३:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App