राजनीति

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा

काठमाडौँ – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) संसदीय दलको मंगलबार बसेको बैठकले राष्ट्रियसभामा दलको नेतामा सांसद दीनानाथ शर्मालाई चयन गर्ने निर्णय गरेको छ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको बैठकले संसदीय दलको विधान पनि पारित गरेको छ। बैठकमा बजेट अधिवेशनबारे सरकारमा सहभागी दलबीच समान धारणा बनाएर सोहीअनुरुप सरकारको नीति तथा कार्यक्रम ल्याइनुपर्नेबारे छलफल भएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए।

वाम गठबन्धनले जनतासमक्ष प्रस्तुत घोषणापत्रलाई कार्यान्वयन गर्नेगरी नीति तथा कार्यक्रम तयार पारिनुपर्ने बैठकले निष्कर्ष निकालेको छ। संघीयताको मूल्यमान्यतालाई सम्मान गर्दै अगाडि बढ्नुपर्ने र उक्त विषय पार्टी संयोजन समितिमा पनि छलफल गरिनुपर्नेमा संसदीय दलले जोड दिएको छ। बैठकले विकासनिर्माणका कार्यलाई सातै प्रदेशमा सघन रुपमा अघि बढाउन प्रदेशमा संयोजन समिति बनाउने निर्णय गरेको छ।

विधेयक संशोधन र परिमार्जनलगायत कानूनी विषयमा रायसुझाव लिन दलको कार्यालयको नेतृत्वमा कानून विभाग गठन गर्नेसमेत बैठकले निर्णय गरेको छ। छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भएका निर्णय र छलफलमा उठेका विषयलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको दलका नेता गुरुङले जानकारी दिए।   (रासस)

प्रकाशित: २५ वैशाख २०७५ ०८:३३ मंगलबार

माओवादी केन्द्रः राष्ट्रियसभामा दलका नेतामा शर्मा