राजनीति

कोठाभित्रै 'सुटुक्क' सार्वजनिक सुनुवाइ सकेको भन्दै विरोध

भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चितपोलले मङ्गलबार (आज) गरेको सार्वजनिक सुनुवाइ कार्यक्रम विवादमा परेको छ। कार्यक्रम सकेर फेसबूकमा पोस्ट हुँदा मात्रै थाहा पाएको भन्दै वडाबासीहरूले विरोध जनाएका छन्। उनीहरूले सुटुक्कै कोठाभित्रै सुनुवाइ सकेको तर्क गरेका छन्।

राष्टिय स्वतन्त्र पार्टी (रास्वपा) सूर्यविनायक नगरपालिका वडा नं. १० का सभापति जनकराज कार्कीले वडाबासीलाई थाहै नदिई आफ्ना आसेपासे एक/दुई जनालाई मात्रै जानकरी दिएर कार्यक्रम गरिएको भन्दै विरोध जनाएका छन्। कार्यक्रममा सहभागी वडाबासी कमल कार्कीले कोठाभित्र सार्वजनिक सुनुवाइ सकेको बताउँदै त्यसको कुनै अर्थ नहुने बताएका छन्।

यस्तै राष्टिय प्रजातन्त्र पार्टी (राप्रपा) का सूर्यविनायक नगरपालिका वडा नं. १० चितपोलका अध्यक्ष ईश्वर कार्कीले पनि यसको विरोध गरेका छन्। नेपाली कांग्रेस निकटको नेपाल विद्यार्थी सङ्घका केन्द्रीय सदस्य वडाबासी राजन देउजाले पनि त्यसको विरोध गरेका छन्। उनले वडामा एमालेले मनोमानी गरिरहेको आरोप लगाएका छन्। उक्त वडामा एमालेका तर्फबाट शिवशरण राउत वडाध्यक्ष छन्। 

सूर्यविनायक नगरपालिकामा कूल १० वटा वडा छन्। ती वडामध्ये आज वडा नं. १० चितेपालमा अन्तिम पटक वडास्तरीय सार्वजनिक सुनवाइ कार्यक्रम भएको थियो। अरु वडाको सुनुवाइ यसअघि नै भइसकेको छ। ती सुनुवाइ पनि कोठाभित्रै सीमित रहेको भन्दै विवादमै परेका थिए। अरु वडाका सुनुवाइमा पनि १० देखि १५ जना मात्रै सहभागी थिए।

सूर्यविनायक नगरपालिका वडा नं. १ सिरुटारका  वडाध्यक्ष सानुकाजी कायस्थ नगरपालिकाको बजेटबाट नगरपालिकाले निर्दिष्ट गरेको मिडिया कम्पनीमार्फत वडास्तरीय सार्वजनिक सुनवाइ कार्यक्रम गरिएको दाबी गर्छन्। वडा बजेट नभई नगरपालिकाको बजेट भएकाले सार्वजनिक सुनुवाइको बजेट आफूलाई जानकारी नभएको उनले बताए।

क्रियाशील पत्रकार मञ्च भक्तपुर, राष्टिय सञ्चार केन्द्र नेपाल गट्ठाघर भक्तपुर र विज्ञापन एजेन्सी गरी तीन संस्थाले वडामा सुनुवाइ गर्ने गर्छन्।

प्रकाशित: ३ असार २०८२ २१:४४ मंगलबार

#SarbajanikSunuwai #Bhaktapur #Nagariknews