राजनीति

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु : प्रधानमन्त्री ओली

चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको पहाडी क्षेत्रमा रहेको भीरको बसाई अन्त्य गर्ने घोषणा गरेका छन्। कृषि तथा वन विज्ञान विश्वविद्यालय 'एएफयू'को पहिलो दिक्षान्त समारोहमा सहभागी हुँदै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री ओलीले भीरको बसाई जोखिमयुक्त रहनुका साथै विकासको बाधक भएको बताए। 

भीरमा विकासका पुर्वाधार लैजान अफ्ठ्यारो हुनाका साथै कठिन भएकाले सरकारले भिरमा बस्ने प्रचलन नै अन्त्य गर्न लागेको उनले बताए। ‘भीरको बसाईको प्रचलनलाई परिवर्तन गर्नु आवश्यक छ,’ उनले भने, ‘भीरमा बस्नेले उकालो मात्र हिँड्ने होइन्, भिरमा हिँडेने जोखिम छ।’ उनले भीरको बसाई हटाएर भीरमा उपयुक्त हुने खेतीको विस्तार गरिने बताए।

चौधरी चरण सिंह हरियाना कृषि विश्व विद्यालयका उपकुलपति प्रा.डा. केपी सिंहको प्रमुख आतिथ्यतमा गरिएको कृषि तथा वन विज्ञान विश्वविद्यालयको पहिलोे दीक्षान्त समारोहमा तीन सय १२ जना विद्यार्थी दीक्षित भएका छन्। समारोहमा स्नातोकोत्तर तहमा एजीका एक सय ३१, बायोटेक्नोलोजीका २, भेट्जरी साइन्सका २७, एनिमल साइन्सका ९, फिसरिजका ९, फरेष्टीका १० र पिएचडीमा १ जना तथा स्नातक तहमा एजीका ९४ र फरेष्टिका २९ जना विद्यार्थीलाई दीक्षित गरिएको विश्वविद्यालयका उपकुलपति प्रा।डा। इश्वरीप्रसाद ढकालले जानकारी दिए । 

देशका ७ वटै प्रदेशमा कम्तीमा एक आंगिक क्याम्पस खोल्ने योजना अनुसार अहिले चार ठाउँमा सञ्चालन गरिएको उपकुलपति ढकालले बताए। प्रदेश १ को धनकुटाको पाख्रिबासमा, प्रदेश ३ को सिन्धुलीको कपिलाकोट, प्रदेश ७ मा कैलालीको टीकापुरमा र प्रदेश ४ मा कास्कीको पुरनचौरमा क्याम्पस सञ्चालन गरिएको छ।  

विश्वविद्यालयले मकवानपुरको पालुङमा कृषि विज्ञान केन्द्र सञ्चालन गरेको छ। विश्वविद्यालय र यसका चार आंगिक क्याम्पसमा अहिले २,२०७ जना विद्यार्थी अध्ययरत छन्। स्नातक तहमा १७५५,  स्नातकोत्तरमा ३७६ र विद्यावारिधिमा ७६ जना विद्यार्थी रहेको उपकुलपति ढकालले बताए। 

प्रकाशित: २१ वैशाख २०७५ १३:३३ शुक्रबार

भीरको बसाई अन्त्य गरेर खेती विस्तार गर्छु प्रधानमन्त्री ओली