राजनीति

स्वर्णिमले फेरि भने: हाम्रो सभापति रवि नै हो, ०८४ पछि प्रधानमन्त्री बन्नुहुन्छ

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको महाधिवेशनपछिको सभापति र प्रधानमन्त्रीको उम्मेदवार रवि लामिछाने नै रहेको कुरा दोहोर्‍याएका छन्। शनिवार स्याङ्जामा आयोजित कार्यक्रममा बोल्दै वाग्लेले आफूले विगतमा भन्दै आएको कुरा दोहोर्‍याएका हुन्। 

‘यिनीहरूले हाम्रा सभापति रवि लामिछानेलाई कारागारमा राखे पनि अहिले पनि हाम्रो सभापति उहाँ नै हो,’ वाग्लेले भने, ‘पार्टीको महाधिवेशनपछि पनि उहाँ नै सभापति बन्ने हो।’ यस्तै २०८४ को निर्वाचनमा रास्वपाले बहुमत ल्याए प्रधानमन्त्री पनि लामिछाने नै बन्ने उनले बताए। उनले भने, ‘२०८४ मा हामीले बहुमत ल्यायौँ भने वा सबैभन्दा ठुलो पार्टी भएर जित्यौँ भने प्रधानमन्त्री पनि उहाँ नै बन्नुहुन्छ।’ 

वाग्लेले यसो भनिरहँदा सभापति लामिछाने भने सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि रुपन्देही कारागारमा छन्। सर्वोच्च अदालतले नै उनको कारागार यात्रामा निरन्तरता दिएपछि कारावास लम्बिने देखिएको छ। 

प्रकाशित: २४ जेष्ठ २०८२ १९:४२ शनिबार

#Rabi Lamichhane #Dr.Swarnim Wagle