राजनीति

विप्लवका सिराहा इन्चार्ज उदयपुरबाट पक्राउ

उदयपुर– नेत्रविक्रम चन्द (बिप्लब) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सिराहा इन्चार्ज बिहीबार उदयपुरबाट पक्राउ परेका छन्। उदयपुर सदरमुकाम त्रियुगा नगरपालिका ७ चुहाडेमा घर भई सिराहा इन्चार्जको जिम्मेबारीमा रहेका अंकुल राउत घर आाएको मौका पारेर प्रहरीले पक्राउ गरेको हो। 

राउतलाई घर आएको सुराकीको आधारमा बिहीबार मध्यान्ह पक्राउ गरिएको जिल्ला प्रहरी निरीक्षक मानबहादुर श्रेष्ठले बताए। उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान थालिएको श्रेष्ठले बताए। उदयपुर प्रहरीले सातादिनअघि मात्र सो पार्टीको उदयपुर जिल्ला कमिटी सदस्य तथा पार्टी जनसरकार प्रमुख जितबहादुर पुलामी मगरलाई पक्राउ गरेको थियो। 

राउतसँगै नेकपाका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा आइसकेका छन्। यसअघि जिल्ला कमिटी सदस्य पूर्णबहादुर तामाङ, निर्मल श्रेष्ठ र युवराज कार्की प्रहरी नियन्त्रणमा आइसकेका छन्। बिप्लब कार्यकर्तामाथि प्रदेश तथा प्रतिनिधिसभा चुनावताका विद्युतीय धराप थापेको तथा बम विष्फोट गराएको आरोप प्रहरीको छ। 

चुनावी अभियानको क्रममा रहेका नेपाली कांग्रेसका प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार नारायण कार्की सवार जीप गत मंसिर १३ गते उदयपुरगढी गाउँपालिका ६ दनुवारबेँसीमा एम्बुस (विद्युतीय धराप) मा परेको थियो। एम्बुस बिष्फोटबाट उम्मेदवार कार्की र नेविसंघ नेतृ मीरा कटुवाल गम्भीर घाईते भएका थिए भने सञ्चारकर्मी नवराज पौडेल, कार्कीका सुरक्षाकर्मी र एक महिलासहित ६ जना घाइते भएका थिए। 

एम्बुसको गोलीले छियाछिया भएको कटुवालको बाँया खुट्टाको घुँडामुनि काट्नु परेको छ भने कार्कीको दायाँ खुट्टाको उपचार अझै सकिएको छैन्। घट्नालगत्तै हेलिकोप्टरमार्फत राजधानी लगिएका कार्की र कटुवाल शिक्षक अस्पतालमा ६ महिना लामो उपचारपछि ३ दिनअघि मात्र डिस्चार्ज भएको छ। उनीहरुलाई पूर्णरुपमा निको हुन अझै १ वर्षभन्दा बढी लाग्नसक्े अस्पताललाई उद्धृत गर्दै आफन्तले जनाएका छन्। 

त्यसबाहेक चुनावताका र पछि पनि बिभिन्न ठाउँका बम राखेको तथा विष्फोट गराएको आशंका पनि नेकपामाथि नै लाग्दै आएको छ। बिष्फोट र बम राख्ने कार्यमा संलग्नाको आशंकामा प्रहरीले पूर्वका बिभिन्न जिल्लाबाट पक्राउ थप ८ जनालाई पनि उदयपुरमै ल्याएर अनुसन्धान गरिरहेको जनाएको  छ।

प्रकाशित: २० वैशाख २०७५ १४:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App