राजनीति

‘ओली सरकार जलगैंडाजस्तो, बोल्छ मात्रै काम केही गर्दैन्’

काठमाडौं– प्याब्सन अध्यक्ष विजय साम्वाहाम्फेले सरकारी नियम र शिक्षासम्बन्धि सम्पूर्ण निर्देशिकाको पूर्ण पालना गरेको भन्दै निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने स्पष्ट पारेका छन्।

बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा बोल्दै अध्यक्ष साम्वाहाम्फेले नियम नीतिकै आधारमा निजी विद्यालयले शुल्क बृद्धि गरेको स्पष्ट दाबी गरे। ‘हामीले नियम र नीति मानेका छौं, हाम्रा स्कुलले सरकारी नीति तथा निर्देशिकाको पूर्ण पालना गरेका छन्, विद्यार्थीहरुले आन्दोलन र ताला लगाएर समस्या समाधान हुन्छ भनेर नचिताए पनि हुन्छ, हामीले नियम मानेका छांै, निर्देशिका कार्यान्वयन गरेका छौं।’

कार्यक्रममा नेविसंघका सभापति नैनसिंह महरले निजी विद्यालयलाई अराजक बनाउने काम सरकारले नै गरेको आरोप लगाएका छन्।

उनले भने, ‘वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार जलगैंडाजस्तो छ, बोल्नेमात्रै हो, काम भनेको केही पनि नगर्ने, यो गर्छु, उ गर्छु भन्छ मात्रै केही गर्दैन, निजी विद्यालयले बढाएको शुल्क र शिक्षाका बारेमा ज्ञापनपत्र बुझाउनको लागि हामीले डेढ महिनादेखि समय माँगिरहेका छौं तर उहाँले भेटको लागि समय दिनुभएको छैन्।’

निजी विद्यायल सञ्चालकहरुका पनि केही समस्या भएपनि उनीहरुले आफ्ना समस्या छन् भन्दैमा गरिबहरुको जीवनमाथि बज्रप्रहार गर्न नहुने उनको भनाई छ।

सभापति महरले प्रत्येक वर्षको बजेटमा शिक्षा क्षेत्रलाई २० प्रतिशत छुट्याउनुपर्ने माग गरे। उनले थपे, ‘सरकारी विद्यालयको स्तरोन्नती गर्नतर्फ सरकारले बलियो आधार निर्माण गर्नुपर्छ।’

एन–प्याब्सनका महासचिव सुवास न्यौपानेले निजी विद्यालयमा देखिएका समस्या ताला लगाएर समाधान नहुने धारणा राखे।

अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नलिए निर्देशिका अनुसार सरकारले कारबाही गर्नुपर्ने माग गरे।

प्यावसनका अध्यक्षले निर्देशिका पालना गरेको दाबीप्रति आपत्ति जनाउँदै अध्यक्ष तामाङले निजी विद्यालयले मनोमानी रुपमा शुल्कवृद्धि गरेको आरोप लगाए। उनले भने, ‘हाम्रो माँग शुल्कवृद्धि फिर्ता हुनुपर्छ भन्ने हो, निजी विद्यालयले शिक्षामा ठूलो योगदान दिएका छन्, महंगी बढेको बाहनामा चर्को मूल्यवृद्धि गर्न निजी विद्यायललाई छुट छैन्, निर्देशिका कार्यान्वयन गर्ने कुनै विद्यालयनै छैनन्, यदि आज नै हामीसँग निर्देशिका मान्ने कमिटमेन्ट गर्नुहुन्छ भने हामीले अहिले नै ताला खोल्न निर्देशन दिन्छौं।’

अनेरास्ववियुका कोषाध्यक्ष झपिन्द्र खत्रीले निजी विद्यालयले बढाएको शुल्कवृद्धि यथाशक्य फिर्ता लिन आग्रह गरे।

अभिभावक संघका अध्यक्ष केशव पुरीले निजी विद्यालयले गर्ने निरन्तरको शुल्कवृद्धिले आफुहरु ठूलो मर्कामा परेको दुःखेसो पोखे।

उनले भने, ‘विद्यार्थी नेताहरु आन्दोलन गर्नुहुन्छ, केही समयका लागि माँग पूरा भएजस्तो गरिन्छ, फेरी अर्को नयाँ वर्षमा उही पाराले शुल्कवृद्धि गरिन्छ, यस्तो स्थितिमा गरिब अभिभावकहरु पीडामा पर्ने गरेका छन्, सरकारले गम्भिर कदम चालोस्, अभिभावकको ढाड सेक्नेगरी भएको शुल्कवृद्धि फिर्ता होस्।’

प्रकाशित: २० वैशाख २०७५ ११:२५ बिहीबार

ओली सरकार जलगैंडाजस्तो बोल्छ मात्रै काम केही गर्दैन्