राजनीति

दिपायल पुगेर दाहालले भने: ‘अखण्ड सुदूरपश्चिम’को नाराले डोटीको अधिकार कुण्ठित गर्‍यो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अखण्ड सुदूरपश्चिमको नाराले डोटीको औचित्य र अधिकार कुण्ठित गरेको दाबी गरेका छन्। माओवादी केन्द्रले सुरु गरेको मध्य पहाडी लोक मार्ग केन्द्रित अभियानका क्रममा शनिवार दिपायल पुगेर दाहालले यस्तो दाबी गरेका हुन्। 

‘मैले शान्ति सम्झौतामा हस्ताक्षर गरेर संविधान सभाको निर्वाचन हुनुअगाडि नै डोटी आएको थिएँ एक पटक दिपायल आएको थिएँ,’ दाहालले भने, ‘त्यतिखेर सम्बोधन गर्दा डोटी नै सुदूरपश्चिमको केन्द्र हुन्छ र हाम्रो तर्फबाट त्यसमा सहयोग हुन्छ भनेको थिएँ। तर, अन्ततः हाम्रो त्यति बेला केही लागेन, प्रदेशको केन्द्र धनगढी हुन पुग्यो, कैलाली हुन पुग्यो। ’ 

आफू दिपायलबाट फर्किसकेपछि अखण्ड सुदूरपश्चिमको नारा लागेको पनि उनले बताइए। ‘त्यतिखेर सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो र अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको कैलालीमा पुर्‍याएको हो भनेर बुझ्न म तपाईँ डोटीवासीलाई गम्भीर रूपमा बुझ्न आग्रह गर्न चाहन्छु,’ दाहालले भने। 

अखण्ड भनिँदा राम्रो शब्द र मिठो लागेको भए पनि त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित गरेको दाहालले दाबी गरे। 

सोही सभामा सम्बोधन गरेका माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले पनि सुदूरपश्चिमको राजधानी डोटी नै हुनुपर्ने आफूलाई लागेको बताए।

‘दिपायल हिजो राणा कालमा पनि नौ जिल्लाको सदरमुकाम, पञ्चायती कालमा विकास क्षेत्र र अहिले पनि मेरो भित्री हृदयले के भन्छ भने–मेरो ब्रह्मले भनेको कुरा भन्नुपर्छ,’ उनले भने, ‘अहिले सुदूरपश्चिमको राजधानी हुनुपर्थ्यो। के कारणले भएन हामी छलफल गर्दै छौँ, गरौँला।’ 
 

प्रकाशित: ३ जेष्ठ २०८२ १४:२६ शनिबार

#Puspa Kamal Dahal #Prachanda #Dipayal #Akhanda Sudoorpashchim