राजनीति

प्रधानमन्त्री भन्छन्ः धुर्मुस–सुन्तलीलाई रंगशाला बनाउन नलाग भनेकै हुँ, अहिले दुख पाए

क्याप्शन

प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस–सुन्तलीले चितवनमा क्रिकेट रंगशाला निर्माणका लागि गरेको साहसिक प्रयासको प्रशंसा गर्दै उनीहरूको दृढताबाट प्रेरणा लिनुपर्ने बताएका छन्।

मंगलबार काठमाडौंमा आयोजित चलचित्र छायांकन स्टुडियो निर्माण आरम्भ उद्घोषण समारोहमा बोल्दै उनले सिनेमा उद्योगको विकासमा पनि यस्तै जोश आवश्यक रहेको उल्लेख गरे।

“मैले ‘गाह्रो छ बाबुनानी, त्यहाँ नथाल’ भन्दाभन्दै धुर्मुस–सुन्तलीले क्रिकेट मैदान सुरु गरे। बहुत दुख पाए। माया लाग्छ। तर त्यो क्रिकेट मैदान पनि बन्छ। उनीहरूको दुखकष्ट एक दिन हट्छ,” उनले भने। उनले यही लगनले सिने सिटी निर्माणमा सबैको सहकार्य अपरिहार्य रहेको बताए।

प्रधानमन्त्री ओलीले गोरखाको पालुङटारमा प्रस्तावित सिने सिटीको प्राकृतिक सौन्दर्य र सम्भावनाबारे पनि चर्चा गरे। “माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु, गणेश हिमालदेखि लाङटाङसम्मको पृष्ठभूमि, मर्स्याङ्दी नदी र हरियालीले सिनेमालाई विश्वस्तरीय बनाउँछ। मुस्ताङमा मरुभूमिको दृश्य खिचियो भने, यहाँका दृश्यले विश्वका फिल्ममेकरलाई आकर्षित गर्छ,” उनले भने।

उनले विगतमा आफ्नो कार्यकालमा ३९६ अस्पतालको एकैसाथ शिलान्यास गरेको र ६० भन्दा बढी सञ्चालनमा आएको समेत स्मरण गरे। तर, पछिल्लो तीन वर्षको आर्थिक संकटले विकासका काम ठप्प भएको उनको भनाइ छ। “अहिले ढुकुटी खाली छ। तैपनि, ओरालो लागेको अर्थतन्त्रमा ब्रेक लगाइसक्यौँ। सिने सिटी बहुवर्षीय योजनामा बन्छ,” उनले प्रतिबद्धता जनाए।

चलचित्र विकास कम्पनीको जग्गा हिनामिनाको विषयमा तत्काल छानबिन गर्न निर्देशन दिँदै उनले भने, “हप्ता–दश दिनमा सत्यतथ्य बाहिर आउँछ। हिनामिना भएको छ भने कानुनी कारबाही हुन्छ।”

प्रकाशित: ३० वैशाख २०८२ १५:५४ मंगलबार