राजनीति

०८४ मा माओवादी एक नम्बर पार्टी बन्छ, समाजवादी क्रान्तिको सुरुवात गरेर मात्रै माथि जान्छु : दाहाल

'संविधान संशोधनको पक्षमा छौँ, प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुनुपर्छ'

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफूहरू संविधान संशोधनको पक्षमा रहेको बताएका छन्। सोमबार (आज) पार्टीको युवा सङ्गठन वाईसीएल कर्णालीको प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।

'हामी माओवादीहरू संविधान संशोधनको पक्षमा छौँ। कमसेकम यो देशमा राजनीतिक स्थायित्वका लागि र अर्थतन्त्रलाई कायम बनाउनका लागि संविधान संशोधन आवश्यक छ। प्रत्यक्ष निर्वाचित राष्ट्रपतिका लागि संविधान संशोधन हुनुपर्छ,' उनले भने।

फरक प्रसङ्गमा दाहालले सरकारले राम्रो काम गर्नेलाई दण्डित र भ्रष्टाचारीहरूलाई संरक्षणको नीति लिएको आरोपित पनि गरे। 'सरकारले गलत गरिरहेको छ। भ्रष्टाचारीको रक्षा र राम्रो काम गर्नेलाई दण्डित गर्ने काम गरिरहेको छ। जनतामा निराशा देखा परेको छ,' उनले भने, 'र, त्यसलाई प्रतिगामी शक्तिहरूले दुरुपयोग गरिरहेका छन्।'

यस्तै उनले ०८४ को निर्वाचनमा माओवादी एक नम्बर पार्टी बन्ने दाबी पनि गरे। 'माओवादी एक नम्बर पार्टी बन्छ, हुनैपर्छ। माओवादी बलियो बने मात्रै सबै उत्पीडित वर्ग-जाति बलियो बन्ने हो। म उमेर ७० कटिसकेँ। तर, म फेरि एकपटक नयाँ क्रान्ति र लागि त्यसको नेतृत्व गर्ने र समाजवादी क्रान्तिको सुरुवात गरेर मात्रै माथि जान्छु,' उनले भने।

प्रकाशित: २९ वैशाख २०८२ १६:२३ सोमबार

##Pushpa_Kamal_Dahal