राजनीति

पाँचथरमा दाहालको बोलीः आङ्बो ‘झन्डै मुख्यमन्त्री..’,९९ प्रतिशतमा रोकियो!

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँचथर पुगेर इन्द्रबहादुर आङ्बो मुख्यमन्त्री बन्ने अवस्था ९९ प्रतिशतमा पुगेर रोकिएको बताएका छन्। शनिवार पाँचथरको फिदिममा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्।  

‘मैले चाहेको थिए, म तपाईँहरुको अगाडि बडो प्रस्ट ढंगले भन्न चाहन्छु। हाम्रो संसदीय दलको नेता इन्द्र आङ्बो ‘मौसम’ हुँदैगर्दा उहाँले पाँचथरको विकासको निम्ती धेरै मेहनत गर्नुभएको थियो र केन्द्रको तर्फबाट उहाँलाई सहयोग गरेका थियौँ,’ दाहालले भने, ‘म के भन्न चाहन्छु भने–झन्डैझन्डै, थोरै प्राबिधिक, थोरै राजनीतिक कारणले मात्रै हो, नत्र उहाँ मुख्यमन्त्री बन्ने ठाउँ मेरो दृष्टिले ९९ प्रतिशत पुगेर रोकियो।’  

आङ्बोलाई मुख्यमन्त्री बनाउने समझदारी रहेको पनि दाहालले दाबी गरे। ‘बन्ने प्रक्रियामा नै समीकरणमा थुप्रै उतारचढाव भए,’ उनले भने।  

भोलि पनि त्यो सम्भावना कायम रहेको पनि दाहालले भन्न भ्याए। उनले भने, ‘पाँचथरबासी जनसमुदायको अगाडि भन्न चाहन्छु थाहा छैन भोलि के हुन्छ। तर पनि पाँचथरले यो प्रदेशकै नेतृत्व पाउँँछ। यो विश्वास दिलाउन चाहन्छु।’  

आङ्बो माओवादी केन्द्र कोसी प्रदेश संसदीय दलका दुई पटक नेता छन्। उनी पाँचथरबाटै प्रदेश सभामा प्रतिनिधित्व गर्छन्।  

प्रकाशित: २७ वैशाख २०८२ १८:०१ शनिबार

#Prachanda #Indra bdr Angbo #CPN Maoist Center