राजनीति

मुख्य सुरक्षा निकाय प्रमुखविहीन हुँदा समन्वयमा समस्या

प्रदेश नम्बर २ को जनकपुरस्थित प्रदेश प्रहरी कार्यालय। तस्बिर : सुरेश/नागरिक

जनकपुरधाम - वैशाखको अन्तिम साता नेपाल भ्रमणमा आउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर समेत पुग्ने करिब निश्चित छ। स्रोतको अनुसार उनी वैशाख २८ गते जनकपुर आउने कार्यक्रम रहेको छ। आधिकारिक निकायले मोदीको जनकपुर आउने निश्चित भएपनि मिति र समय यकिन तय भइनसकेको बताइरहेको छ। मोदीले जनकपुर भ्रमण गर्ने ठ्याक्कै मिति र समय तय हुन नसकेपनि उनको सुरक्षाको लागि सम्बन्धित निकायले भने आवश्यक तयारी सुरु गरिसकेको छ।

यस अघि पनि भारतीय प्रधानमन्त्री मोदी नेपाल भ्रमणमा आएको बेला जनकपुर पुगेर जानकी मन्दिरको दर्शन गर्ने चर्चा चलेको थियो। त्यसबेला मधेशमा आन्दोलन चलिरहेको हुँदा सुरक्षाको सवाल उठाउँदै व्यवस्थापन पक्षले जनकपुरमा भिभिआइपी भ्रमणको लागि वातावरण अनुकुल नरहेको जनाउ दिएपछि अन्तिम समयमा स्थगन हुन पुग्यो।

यतिबेला उनको नेपाल भ्रमणको लागि यकिन मिति नतोकिदै आवश्यक सम्पूर्ण तयारीमा सरकारी निकाय जुटिसकेको छ। नेपाली तथा भारतीय सुरक्षा निकायका प्रतिनिधिहरुले तीन पटक जनकपुरको सुरक्षा अवस्थाको अनुगमन गरिसक्यो। यो साताभित्रै सुरक्षा निकायका प्रमुखहरुले सुक्ष्म अनुगमन गर्ने बुझिएको छ।

नेपालको चारवटै सुरक्षा निकाय तथा भारतीय सुरक्षा अधिकारीहरुले मोदीको भ्रमण तयारीलाई लक्षितगरी सुरक्षाको दृष्टिकोणले जनकपुर क्षेत्रलाई निगरानीमा राखेका छन्। यहाँका स्थानीय सुरक्षा निकायहरु आफै भने अभिभावक विहीन छन्। जनकपुरमै रहेको प्रदेश प्रहरीको कार्यालय, संघीय प्रहरी इकाइ कार्यालय र जिल्ला प्रशासन कार्यालय नै प्रमुख विहीन अवस्थामा छन्।

सरुवा, बढुवा र अवकाशको कारण हरेक सरकारी कार्यालयको प्रमुख फेरिने क्रममा केही दिनका लागि निमित्तको भरमा सञ्चालन हुनु स्वभाविक मान्न सकिएला। तर, यहाँको अवस्था भने फरक छ। प्रमुख सुरक्षा निकायहरु एकैपटक प्रमुख विहीन भएका छन् र निर्धारित दरबन्दी अनुसारको कर्मचारी उपलब्ध नरहँदा सबै कार्यालयमा दुई तह मुनिकालाई निमित्त तोकिएको अवस्था छ। यसले सुरक्षा संयन्त्रबीच आवश्यक समन्वय गर्न असहज भइरहेको सम्बन्धित कार्यालयका कर्मचारीहरु बताउँछन्।

प्रदेश प्रहरी कार्यालयको प्रमुखमा प्रहरी नायव महानिरिक्षक (एआइजिपी) विजयलाल कायस्थलाई पठाइएको थियो। उनी गत चैत २८ गते उमेर हदको आधारमा अनिवार्य अवकास लिए। संघीय प्रहरी इकाइ कार्यालयका प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक एसएसपी सुवासचन्द्र चौधरीले चैत २६ गते नै अवकास लिएर घर फर्किसके। धनुषाका प्रमुख जिल्ला अधिकारी दिलिपकुमार चापागाईले गत शुक्रबार सरुवा भएर जिल्ला छाडे। प्रादेशिक राजधानी सहर रहेको जनकपुरमा अवस्थित प्रमुख सुरक्षा निकायहरु यसरी अभिभावक विहीन हुन पुगेको हो।

प्रदेश प्रहरी प्रमुख एआइजिपीको स्थानमा एसएसपीलाई निमित्त तोकिएको छ। संघीय प्रहरी इकाइ कार्यालयको प्रमुखको जिम्मेवारी जिल्ला प्रहरी प्रमुख एसपी चक्रबहादुर सिंहलाई थमाइएको छ। प्रमुख जिल्ला अधिकारीको कार्यभार प्रशासकीय अधिकृतलाई सुम्पिएको छ। संघीय प्रहरी इकाइ कार्यालयको हकमा एसएसपीको अनुपस्थितिमा एसपीलाई तोकिनु स्वभाविक भएपनि प्रदेश प्रहरी र जिल्ला प्रशासन कार्यालय प्रमुखको जिम्मेवारीमा ती कार्यालय प्रमुखभन्दा दुई तह मुनिकालाई निमित्त प्रमुख तोकिएको छ।

प्रदेश प्रहरी कार्यालयमा एआइजिपीपछि डिआइजिपी र एसएसपीको दरबन्दी नरहेको र जनकपुरमै एसएसपी बस्ने संघीय इकाइ प्रहरी कार्यालय पनि प्रमुख विहीन हुँदा संघीय इकाइ प्रहरी कार्यालय राजविराजका प्रमुख हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको हो। यता, जिल्ला प्रशासन कार्यालयमा प्रजिअपछि दुई जना सहायक प्रजिअको दरबन्दी छ। ती दुई मध्ये एक पहिलेदेखि नै रिक्त थियो भने अर्का सहायक प्रमुख जिल्ला अधिकारी शिशिर पौडेल पनि प्रजिअ चापागाईसँगै सरुवा भएर गएको कारण प्रशासकीय अधिकृत दिपक कर्णलाई निमित्त प्रजिअको जिम्मेवारी दिइएको हो।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरिक्षक मनोज न्यौपानेले भने सुरक्षा निकायमा प्रमुख नभएकै कारण सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने बताउँछन्। ‘सुरक्षा निकाय पद्धतिमा चल्ने हो, व्यक्ति मुख्य होइन’ प्रहरी प्रवक्ता न्यौपानेले नागरिकसँग भने, ‘सुरक्षा निकायहरुको आफ्नै पद्धति छ। प्रदेश र संघीय इकाइ प्रहरी कार्यालयमा प्रमुख नभएपनि जिल्ला प्रहरी कार्यालय लगायत निकाय छ। तिनीहरुले सबै व्यवस्था गरिहाल्छन्।’

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले भने भारतीय प्रधानमन्त्री प्रदेशको नभएर जिल्लाको भ्रमण गर्न लागेको र यसका लागि जिल्ला स्तरमा सुरक्षा व्यवस्था दुरुस्त रहेको दावी गरे। ‘प्रदेश प्रहरी प्रमुख नभएपनि त्यहाँ एउटा संयन्त्र छ, त्यसले काम गर्ने हो। जिल्लाको हकमा प्रजिअको सरुवा भएपछि अर्को प्रजिअ आउन लागेका छन्। भोलीदेखि दुई दिन विदा छ। कार्यालय खुल्नेवित्तिकै नयाँ प्रजिअ पुग्छन्’ सुवेदीले भने। उनले मोदी भ्रमणको विषयमा केन्द्रित भएर एक चरण जनकपुर क्षेत्रको अनुगमन पुरा गरेको र अर्को चरणमा निस्किने तयारीमा रहेको बताए। जिल्ला तहको सुरक्षा विश्लेषणमा थप जनशक्ति आवश्यक महसुस भए केन्द्रबाट व्यवस्था गर्ने बताउँदै उनले मोदीको जनकपुर भ्रमणमा कुनै किसिमको सुरक्षा चुनौति नरहेको जिकिर गरे।

प्रकाशित: १७ वैशाख २०७५ ०१:४१ सोमबार

मुख्य सुरक्षा निकाय प्रमुखविहीन हुँदा समन्वयमा समस्या