राजनीति

विदेशिने युवा रोक्न एउटा गाउँलाई १ करोड बजेट छुट्टाउन दाहालको आग्रह (भिडियो)

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली युवा विदेशिने परिस्थिती अन्त्य गर्नका लागि सरकारलाई बजेट छुट्याउन माग गरेका छन्। 

शुक्रबार १४ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कृषिमा आधारित उद्योगले मात्रै नेपालको औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न सकिने भन्दै प्रत्येक स्थानीय तहमा एउटा ग्राम उद्योग स्थापना गर्न सरकारले १–१ करोड बजेट छुट्याउनुपर्ने माग गरे।

‘सक्रिय र सक्षम जनशक्ति विदेशिने परिस्थितीको अन्त्यका लागि हामीले कृषिमा आधारित औद्योगिक विकासलाई प्राथमिकता नदिइ हुँदैन्। सरकारका नीति तथा कार्यक्रममा लघु उद्योग समेटिने विश्वास लिएको छु’, दाहालले भने– ‘औद्योगिक विकासलाई गति दिनसक्ने र स्वरोजगार सिर्जना गर्न प्रत्येक स्थानीय तहमा एउटा ग्राम उद्योग स्थापना गर्न सरकारले सहयोग गरोस। त्यसका लागि प्रत्येक तहमा १ करोड बजेट छुट्याइयोस्।’

आफू दोस्रोपटक प्रधानमन्त्रीका रुपमा स्थानीय तह निर्माणको नेतृत्व गर्दै गर्दा स्थानीय तहमा नै उद्योगको विकासका निम्ति रकम विनियोजन गर्दा त्यसमा रकम विनियोजन गर्नुपर्छ भन्ने भावना अनुरुप बाटो खनिसकिएको भन्दै उनले तुरुन्तै सबै कार्यपालिकामा उद्योग स्थापनाका निम्ति रकम छुट्याउन सरकारलाई आग्रह गरे। 

यी विषयमा प्रधानमन्त्री र उद्योगमन्त्रीसँग कुरा गर्ने प्रतिबद्धता जनाएका पूर्वप्रधानमन्त्री दाहालले परिवर्तित परिस्थितीमा विकासलाई गति र स्थिरतालाई राम्रोसँग स्थापित गर्नुको कुनै विकल्प नभएको स्पष्ट पारे।

स्थानीय, प्रादेशिक र संघीय तहमा नीति कसरी लिने भन्ने छलफल सरकार र बजेट निर्माणमा चलेको जानकारी गराउँदै उनले आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमा जोड दिए।

लघु र घरेलु उद्योग समग्र देश विकासको औद्योगिक जग आधारभुमी हो भन्दै अध्यक्ष दाहालले जबसम्म घरेलु उद्योगको पर्याप्त विकास गरिँदैन्, लिडिङ उद्योग आधार बन्दैन। ठूलो उद्योगको विकास सम्भव छैन् भने।

स्वदेशी खपत बढाउन, घरेलु बस्तु प्रयोगमा जोड दिनका लागि नैतिक शिक्षा तथा राज्यबाट केही नियम कानून बनाउनुपर्ने भन्दै त्यसमा पनि बजेट छुट्याउन उनले माग गरे। ‘लघु उद्योग जति विकसित हुँदै जान्छ ठूला उद्योगको आधार बन्छ’, उनले भने। 

देशमा पहिलोचोटी बलियो तथा स्थिर सरकार बनेको र सरकारले बजेट निर्माण गरिरहेको भन्दै सबै क्षेत्रमा जनताले देख्ने, महसुस गर्नेगरी आमुल सुधारको खाँचो औल्याए। जनताले विकास र समृद्धिमा परिणाम खोजेको भन्दै अहिलेको प्रचुर अवसरमा परिणाम दिन नसके परिवर्तनको दिगोमाथि प्रश्न उठ्छ र फेरि राजनीतिक अस्थिरता बढ्नेमा उनले सचेत गराए। 

राष्ट्रिय आत्मनिर्भर अर्थतन्त्रमा जोड दिएका दाहालले अगाडि भने– ‘कृषिमा आधारित उद्योगको विकासविना आत्मनिर्भरता सम्भव छैन्’, उनले भने।

प्रकाशित: १४ वैशाख २०७५ १३:४७ शुक्रबार

विदेशिने युवा रोक्न गाउँलाई करोड बजेट छुट्टाउन दाहालको आग्रह भिडियो