राजनीति

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा विद्युत सम्झौता हुने भएको छ। जल, सिँचाइ तथा उर्जामन्त्री वर्षमान पुनले शुक्रबार नुवाकोट पुगेर प्रधानमन्त्रीको भ्रमणमा चीनसँग गल्छी, त्रिशुली, केरुङ (रसुवागढी–केरुङ) अन्तरदेशीय प्रसारण लाइन विस्तारको सम्झौता हुने जानकारी दिएका हुन्।

उनले वीआरआई अन्तर्गत रसुवाढी अन्तरदेशीय प्रसारण लाइन विस्तारको तयारी भइरहेको बताए। ‘प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा त्यस सम्बन्धी सम्झौता हुनेछ’, उनले भने। 

नुवाकोटमा नेपाल विद्युत प्राधिकरणले निर्माण गर्न लागेको २५ मेगावाटको सोलार प्लान्टको शिल्यानास गर्दै मन्त्री पुनले आयोजना समयमै पुरा हुने स्पष्ट पारे। 

आफ्नो सामु यो दशक उर्जा दशक बनाउने चुनौती भएको बताउँदै उनले चुनौती सामना गर्न तयार भएको बताए। आगामी दुई वर्षसम्म औधोगीकरण नबढे विद्युत बचत हुने र अब विद्युतीय सवारी साधन प्रयोगलाई बढावा दिने पनि मन्त्री पुनले उल्लेख गरे। 

‘हरेक घरमा आयातित सिलिण्डर ग्यास होइन, विद्युतीय चुल्हो हुनेछ’, उनले भने, ‘विद्युत क्षेत्रबाट समग्र राष्ट्रको अर्थतन्त्रमा चमत्कारीक परिवर्तन हुनेगरि काम गर्छौ।’

जलस्रोत देशकै ठूलो प्राकृतिक स्रोत भएको बताउँदै उनले उर्जा क्षेत्रमा मुलुक आत्मनिर्भर हुने तरिकाले काम गरिरहेको बताए। उनले भने, ‘विद्युत आयोजनाको निर्माण गर्दा सिँचाइ र जलस्रोतको योजना एकीकृत रुपमा निर्माण गरिने छ।’

प्रकाशित: १४ वैशाख २०७५ १२:५२ शुक्रबार

प्रधानमन्त्रीको चीन भ्रमणमा विद्युत सम्झौता हुने