राजनीति

स्वर्णिमलाई कारबाही गर्न मुकुलको माग

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बित) डा. मुकुल ढकालले पार्टी उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई कारबाही गर्न माग गरेका छन्।

'देशको सार्वभौमिकतामा बारम्बार प्रहार गर्ने स्वर्णिम वाग्लेलाई कारबाही गरियोस्,' ढकालले फेसबूकमा लेखेका छन्।

अगाडि उनी लेख्छन्- देशभित्रका कुरा देशमै सेटल गर्छौँ, त्यसको लागि लड्छौँ भन्नुको साटो अन्तर्राष्ट्रियकरण गर्छौँ रे। सिधा स्पष्ट भाषामा देशलाई औपनिवेशिकरण गर्ने कुरा गरेका छन्। जत्रो ठूलो समस्या होस्, नेपालको समस्या नेपालीले मिलाउने हो, नेपालीले समाधान गर्ने हो।

वाग्ले र ढकालबीच पहिल्यैदेखि राम्रो सम्बन्ध छैन। पहिले एउटै पार्टीमा उपसभापति र महामन्त्रीको हैसियतमा काम गरे पनि गत असारयता उनीहरूबीच तिक्तता छ।

गत असार २५ गते पार्टीले कारबाही गरेपछि ढकालले वाग्लेलाई नेपाल भारतमा मिसाउने अभिव्यक्ति दिएको आरोप लगाएका थिए। उक्त आरोपको खण्डन गर्ने क्रममा वाग्लेले ढकाललाई 'गजेडी' भनेका थिए।

यसपछि ढकालले वाग्लेको चितवनको आजको भाषणप्रति लक्षित गर्दै कारबाहीको माग गरेका हुन्।

प्रकाशित: २३ चैत्र २०८१ १९:०१ शनिबार

#swarnim wagle #Mukul Dhaka