राजनीति

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई जेल हाल्ने रविको अन्तिम इच्छा हो : ढकाल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको अन्तिम इच्छा रहेको बताएका छन्।

शनिबार (आज) चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन्।

'यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ,' उनले भने।

ढकालले लामिछानेको मुटुमा रगत नभइ तेजाब रहेको र त्यसले भ्रष्टहरूलाई जलाउने टिप्पणी गरे। 'भ्रष्टहरू, आज एकजना व्यक्तिका पछाडि लागेका छौ नि। त्यो व्यक्ति निडर छ, त्यो व्यक्तिको मुटुमा रगत होइन, तेजाब छ, त्यसले तिमीहरूलाई जलाउँछ,' उनले भने।

यसअघि शुक्रबार (हिजो) पक्राउ गर्न लामिछानेको निवास हात्तीगौँडा पुगेका डीएसपी दीपक खड्काले 'अन्तिम इच्छा' सोधेका थिए। त्यसको जवाफमा ढकालले यस्तो बताएका हुन्।

प्रकाशित: २३ चैत्र २०८१ १६:५९ शनिबार

#Hari Dhakal #rabi lamichhane