राजनीति

हिरासतमा रवीन्द्र र धवलशमशेरको गुनासो- मोबाइल खेलाउन पाएनौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा गत सातायता जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा छन्।

गत चैत १५ गतेको तीनकुने घटनापछि पक्राउ परेका उनीहरूलाई प्रहरीले दुईपटक म्याद थपेर हिरासतमा राखिरहेको हो। सुरुमा अरु कैदीकै हैसियतमा राखिएका उनीहरूलाई अहिले अलग्गै राखिएका छन्।  

खान र बस्नका लागि समस्या नभएको उनीहरूले बताएका छन्। तर, मिडियासँग जोडिनका लागि भने नदिइएको उनीहरूले गुनासो गरेका छन्। 'खान-बस्नका लागि त्यस्तो समस्या छैन तर, मिडियासँग जोडिन भने दिइएको छैन,' उनीहरूलाई उद्धृत गर्दै शुक्रबार (आज) हिरासत नै भेट्न पुगेका मानव अधिकारकर्मी चरण प्रसाईंले नागरिकसँग भने।

उनीहरूलाई पत्रिका पढ्न दिइएको भए पनि मोबाइल तथा ल्यापटपलगायतका सामानहरूको पहुँच भने दिइएको छैन। 'उहाँले पत्रिकाचाहिँ मगाएर पढ्दै हुनुहुँदोरहेछ। तर, मोबाइल चाहिँ छुन दिइएको छैन,' प्रसाईंले भने, 'उहाँहरूले मोबाइल खेलाउन पाएनौँ, मिडियासँग प्रत्यक्ष जोडिन पाएनौँ भनेर गुनासो गर्नुभयो।'

यस्तै उनीहरूले आफूविरुद्ध राज्यले प्रतिशोध साँधेको पनि गुनासो गरेका छन्। आफूहरूको प्रदर्शनमा राज्यले नै पहिले अत्याचार गरेको र आफूहरूले त्यसलाई रोक्न मात्रै खोजेको भनाइ उनीहरूको थियो।

'त्यहाँ हामीले कोही-कसैलाई कुनै निर्देशन पनि दिएका थिएनौँ। पहिले राज्यकै तर्फबाट अत्याचार सुरु गरियो। त्यसलाई रोक्न मात्रै खोजेका थियौँ। तर,आज हामीमाथि जसरी राज्यद्रोहलगायतका मुद्दा चलाउन खोजिँदैछ। त्यो एकदमै अन्यायपूर्ण छ,' रवीन्द्र-धवललाई उद्धृत गर्दै प्रसाईंले भने।

उनीहरूको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको प्रसाईंले बताए। त्यसो त रवीन्द्र कोलेस्ट्रोल बिरामी हुन् भने धवल क्यान्सर 'सर्भाइबर' हुन्। 'उहाँहरूको स्वास्थ्य अवस्था ठीक छ। बस्नका लागि पनि राम्रै व्यवस्था पाएँ,' उनले भने।

प्रकाशित: २२ चैत्र २०८१ १६:४३ शुक्रबार

#Rabindra Mishra #Dhawal Shamsher Rana