राजनीति

माधव नेपालको चेतावनी: देशलाई पेवा बनाउने दिन गए, निरंकुशतालाई पुरस्कृत गर्न सकिँदैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशमा प्रतिगामी शक्तिहरूले टाउको उठाउने प्रयास गरिरहेको बताएका छन्।

सोमबार काठमाडौंमा पार्टी निकट खेलकुद महासंघको कार्यक्रमलाई सम्बोधन गर्दै उनले इतिहास भइसकेको राजतन्त्र पुनर्जनम गराउने प्रयास असम्भव भएको जिकिर गरे।

अध्यक्ष नेपालले पूर्वराजा शाहको योगदानमाथि प्रश्न उठाउँदै भने, “के त्याग, तपस्या वा देश निर्माणमा योगदान गरेका छन् ? दमन, निरंकुशता र वंशको शासन चलाएर देशलाई गरिबी र बेरोजगारीमा धकेलेको होइन ?”

उनले इतिहास पछाडि नफर्किने र नेपाली समाज सामन्तवादको युगमा नफर्किने दाबी गरे। “नराम्रो काम गर्नेलाई पुरस्कृत गर्न सकिँदैन, जनता भ्रममा नपर्नुस्,” उनले थपे।

उनले जनताका छोराछोरीले देशको राष्ट्रपति बन्ने अवसर पाउनुपर्ने बताउँदै कुनै परिवारले देशलाई आफ्नो पेवा बनाउन नहुने धारणा राखे। “कुनै परिवारको दास बन्न कोही चाहँदैन, इतिहासको सत्य र तथ्य बुझ्न जरुरी छ,” उनको भनाइ थियो।

प्रकाशित: १८ चैत्र २०८१ १६:०२ सोमबार