राजनीति

मिश्र र राणालाई पाँच दिन हिरासतको अनुमति, दोषी ठहरिए २५ वर्ष जेल सजाय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेता रवीन्द्र मिश्र, सांसद धवलशमशेर जबरालगायतलाई छाड्न अल्टिमेटम दिए पनि उनीहरूको अनुसन्धानका लागि प्रहरीले अदालतबाट पाँच दिनको समय लिएको छ। तीनकुने घटनामाथि अनुसन्धान गरिरहेको प्रहरीले राज्यविरुद्धको अपराधको आरोपमा अनुसन्धान गर्न पाँच दिनको समय लिएको हो। राप्रपाले आइतबार साँझ मुलुकका विभिन्न भागमा राँके जुलुस गरेको थियो तर प्रहरीले उनीहरूलाई छाड्ने मनस्थिति देखाएन।  

आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठकमा राजावादीहरू हिंसा भड्काउने योजनासहित सडकमा निस्किएको बताइरहेका बेला प्रहरीले उनीहरूको अनुसन्धान गर्न पाँच दिनको समय लिएको हो। आइतबार मात्रै एमाले सचिवालय बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले योजनाबद्ध रूपमै राजावादीहरूले हिंसा भड्काउन खोजेको आरोप लगाएका थिए।

‘उनीहरू (राजावादीहरू) को नियत नै गलत छ। हिंसा भड्काउने योजना गरेरै आएका छन्,’ प्रधानमन्त्री ओलीले भनेका थिए। व्यवस्था बदल्ने आन्दोलनमा लागेका उनीहरूलाई काठमाडौं जिल्ला प्रहरी परिसरले राज्यविरुद्धको कसुरमा काठमाडौं जिल्ला अदालतबाट अनुसन्धान गर्न समय मागेको थियो। राज्यविरुद्धको अपराधको आरोपमा थुनामा राख्ने अनुमतिका लागि ११ जनालाई जिल्ला अदालतमा पेस गरेको थियो। जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख रामहरि शर्मा काफ्लेका अनुसार उनीहरूमाथि प्रारम्भिक अनुसन्धानपछि राज्यविरुद्धको कसुर आकर्षित हुने देखिएकाले त्यसमा म्याद थप गर्ने अनुमति मागेको थियो। शुक्रबारको राजावादी प्रदर्शन हिंसात्मक भएपछि राप्रपाका दुई नेतालगायत ११ जनाविरुद्ध राजद्रोह र संगठित अपराधको कसुरमा अनुसन्धान भइरहेको छ।  

राप्रपाका वरिष्ठ उपाध्यक्ष तथा राजसंस्था पुनःस्थापना संयुक्त जनआन्दोलन समितिका सदस्य सचिव रवीन्द्र मिश्र र सांसदसमेत रहेका राप्रपाका महामन्त्री तथा जनआन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणा शुक्रबार राति नै पक्राउ परेका थिए। करोडौंको निजी तथा सरकारी सम्पत्तिमा क्षति तथा दुई जनाको मृत्यु हुने गरी राजावादीको तीनकुने प्रदर्शन हिंसात्मक भएको थियो। मुलुकी अपराध संहिता २०७४ को दफा ५० मा राजद्रोहको कसुरसम्बन्धी व्यवस्था छ, जसमा अधिकतम २५ वर्षसम्म कैद सजाय हुने व्यवस्था रहेको छ। 

यही दफाको उपदफा १ मा यसको व्याख्या गरिएको छ। ‘नेपाल सरकार वा संवैधानिक संरचनालाई पल्टाउने नियतले कसैले सैनिक, अर्धसैनिक वा आपराधिक बलको प्रदर्शन वा प्रयोग गरी कुनै अव्यवस्था उत्पन्न गर्न वा हतियारसहित सैनिक वा अर्धसैनिक संगठन निर्माण गर्न वा त्यस्तो षड्यन्त्र वा उद्योग गर्न वा गराउन वा दुरुत्साहन गर्न हुँदैन,’ त्यस उपदफामा भनिएको छ। यो कसुर गर्नेलाई २५ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।  

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार घटनामा संलग्नहरूका बारेमा सरोकारवालाहरूसँग जाहेरी र अरू सूचनाका लागि सार्वजनिक आह्वान भइसकेको छ। आन्दोलनको नेतृत्व गरिरहेका दुर्गा प्रसाईं भने यो समाचार तयार पार्दासम्म फरार छन्। उनीसँगै अन्य केहीलाई पनि प्रहरीले खोजी गरिरहेको छ। आइतबार दिउँसो उनले आफू काठमाडौंमा रहेको भिडियो सार्वजनिक गरेका थिए।  

स्वागत नेपाल छुटे
राजावादी आन्दोलनका प्रवक्ता स्वागत नेपाल रिहा भएका छन्। उनलाई प्रहरीले म्याद थप नगरी रिहा गरेको हो। प्रहरीले उनलाई शुक्रबार पक्राउ गरेको थियो। राजावादीले हिंसात्मक प्रदर्शन गरेको दिन उनी परीक्षामा सामेल थिए। प्रदर्शन उत्तेजक बनाउन कुनै भूमिका खेलेको नदेखिएपछि नेपाललाई रिहा गरिएको प्रहरीको भनाइ छ।  

सूचना दिन आग्रह
नेपाल प्रहरीले चैत १५ गते काठमाडौं तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको छ। आइतबार नेपाल प्रहरीले एक सूचना जारी गर्दै तीनकुनेमा भएको प्रदर्शनका फोटो तथा भिडियोहरू उपलब्ध गराउन आग्रह गरेको हो। चैत १५ गते तीनकुने, कोटेश्वर, सिनामंगल, जडीबुटी लगायत क्षेत्रमा राजनीतिक दलका कार्यालय, निजी सम्पत्ति, प्रहरी कार्यालय, सञ्चार गृह, व्यापारिक केन्द्र लगायतमा क्षति भएको र अनुसन्धान प्रमाणका लागि फोटो भिडियो उपलब्ध गराउन प्रहरीले अनुरोध गरेको हो।

प्रकाशित: १८ चैत्र २०८१ ०७:३८ सोमबार