राजनीति

पूर्वराजा ज्ञानेन्द्रलाई जरिवाना तिराउन लेखिएको बालेनको पत्र हास्यास्पद : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले शुक्रबारको राजावादी आन्दोलनका क्रममा पुगेको क्षतिका लागि काठमाडौँ महानगरले पूर्वराजा ज्ञानेन्द्रलाई गरेको जरिवाना हास्यास्पद रहेको बताएका छन्।

थापाले शनिबार सामाजिक सञ्जालमा लेख्दै महानगरको यो निर्णय गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भएको बताए।

साथै उनले तिनकुने घटनामा ज्ञानेन्द्रलाई जिम्मेवार ठहर गरेकोप्रति आपत्ति समेत व्यक्त गरेका छन्। महानगरले पूर्वराजा शाहलाई जरिवाना तिर्न भन्दै शनिबार पत्र पठाएको छ। महानगरले विभिन्न आठ शिर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तिनुपर्ने भनेको छ।  

यस्तै अध्यक्ष थापाले मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो भन्दै उक्त पत्र फिर्ता लिनुपर्ने बताए। उनले भनेका छन्, ‘तीनकुनेमा चैत १५ गते भएको कार्यक्रमलाई लिएर राजा ज्ञानेन्द्रलाई जरिवाना गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय हास्यास्पद छ। गलत ठेगानामा पठाइएको पत्र जस्तो स्टण्ट भयो। मेयर बालेन साहबाट यस्तो त्रुटि कसरी भयो होला, म अलमलमा छु।’

थापाले अगाडि लेखेका छन्, ‘संयुक्त जनआन्दोलन समिति र नागरिक बचाउ अभियानले जिल्ला प्रशासनसँग स्वीकृति लिएर कार्यक्रम गरेको रेकर्ड हेर्न महानगरपालिकालाई आग्रह छ। पत्रको भाषा पनि अशिष्ट र अमर्यादित छ। राजाको कुरा छोडिदिउँ, उहाँ पूर्व राष्ट्राध्यक्ष पनि हुन्छ भन्ने महानगरपालिकाले हेक्का राख्नु पर्ने थियो। पत्र फिर्ता लिनु बुद्धिमानी हुने छ।’

प्रकाशित: १६ चैत्र २०८१ १७:३३ शनिबार