राजनीति

ओली राजावादी कि गणतन्त्रवादी ? दाहाललाई छ गम्भीर शङ्का

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली गणतन्त्रवादी होइनन् कि भन्ने शङ्का व्यक्त गरेका छन्।

शुक्रबार (आज) काठमाडौंको प्रदशर्नी मार्गमा समाजवादी मोर्चाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा दाहालले यस्तो बताएका हुन्।

'उहाँ (केपी शर्मा ओली) राजावादीसँग मिलेको त होइन भन्ने गम्भीर प्रश्न उठेको छ। भित्रभित्रै उहाँ मिल्नुभएको छ भन्ने कुराहरू आइरहेका छन्,' दाहालले भने, 'हिजो पनि कहीँ न कहीँ मिल्न खोज्दै हुनुहुन्थ्यो।'

ओलीलाई 'बयलगाडा सिद्धान्त'को प्रतिपादक भन्दै उनले थपे, 'जतिबेला माधव नेपालजीको नेतृत्वमा गणतान्त्रिक आन्दोलन गर्दै थियो। त्यतिबेला उहाँ बयलगाडा सिद्धान्त प्रतिपादन गर्दै हुनुहुन्थ्यो। गणतन्त्र भन्नेबित्तिकै उहाँले माओवादी र माओवादी भन्नेबित्तिकै प्रचण्ड देख्नुहुन्छ र त्यसलाई कसरी फसाद पार्ने भन्नेतिर मात्रै सोच्नुहुन्छ।'

राजावादी सक्रिय भएकै बेला उल्टो उल्टो काम गरेर पनि ओलीले आफू राजावादी भएको प्रष्ट पार्न खोजेको दाहालको आरोप छ। 'अहिले पनि उल्टो उल्टो काम गरिरहनुभएको छ। उल्टो उल्टो गरेपछि त त्यसले राजावादीहरूलाई फाइदा हुने भयो,' उनले भने।

कुलमान घिसिङसम्म आउँदा ओलीले उल्टो उल्टो गर्न खोजेको स्पष्ट नै भएको उनले बताए। 'हामीले के भनेका छौँ भने सदनमा आएर जवाफ दिनु, चित्त बुझे खुलाउँछौँ अन्यथ खुल्दैन भनेका छौँ तर, दिनेजस्तो छाँटकाँट छैन। यसैले पनि चिजहरू बिग्रिरहेका छन्,' उनले भने।

प्रकाशित: १५ चैत्र २०८१ १६:०७ शुक्रबार

#kp oli ##Pushpa_Kamal_Dahal