राजनीति

रास्वपा गणतन्त्रवादी कि राजावादी ?

पछिल्लो गणतन्त्र दिवसयता राजा र राजावादी उत्साहित छन्। पूर्वराजा ज्ञानेन्द्र शाहले 'अब बेला भयो' भन्दै जारी गरेको दृश्य-सन्देशलाई राजावादी दल तथा घटकहरूले महत्त्वपूर्ण रूपमा मात्रै लिएनन्, गत फागुन २५ गते सङ्घीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसमेत गरे। जहाँ, एक स्तरको जनसहभागिता पनि देखियो।

त्यसबाट हच्किएका गणतन्त्रवादी दलहरूले राजा र राजावादीका सक्रियताका विरुद्ध शृङ्खलाबद्ध सडक आन्दोलनको घोषणा गरेका छन्। सत्तारूढ दल नेकपा (एमाले), प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र), विपक्ष दल नेकपा (एकीकृत समाजवादी) लगायतका दलहरूले सडक आन्दोलनको घोषणा गरेका छन्। दलीय रूपमै आन्दोलनको घोषणा नगरेका दलका नेताहरूले पनि व्यक्तिगत रूपमा विभिन्न माध्यमबाट राजा र राजावादीका सक्रियताका विरुद्ध खबरदारी गरिरहेका छन्।

तर, संसद्को चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यसबारे 'रहस्यमय' मौनता साँधिरहेको छ। यसले दुविधा जन्माएको छ कि रास्वपा राजावादी हो कि गणतन्त्रवादी ? यो प्रश्नको जवाफ दिन स्वयम् पार्टी सभापति रवि लामिछाने तयार छैनन्। दोहोर्‍याइ, तेहर्‍याइ प्रश्न तेर्स्याउँदासमेत लामिछाने भन्छन्, 'आवेग र उत्तेजनामा बोल्दिनँ, बोलेँ भने दुईतिहाइको सरकारलाई गाह्रो पर्न सक्छ। समय आएपछि बोल्छु। जब बोल्छु, धेरैको बोल्ती बन्द हुन्छ।'

शुक्रबार (आज) लामिछानेलाई पत्रकारहरूले उच्च अदालत, पाटनको प्राङ्गणमा यही प्रश्न दोहोर्‍याएका थिए। तर, लामिछाने एक लाइन अङ्ग्रेजी बोल्दै पन्छिए, 'गेट रेडी फर द रेभ्युलेसन।'

उच्च अदालत, पाटनमा रवि लामिछाने।

जसै यसअघि गत फागुन २६ गते बुटवलमा पनि उनले यही आशयमा बोलेका थिए। जहाँ पत्रकारहरूको प्रश्न साबिककै थियो- तपाईं राजावादी कि गणतन्त्रवादी ?

त्यसो त रास्वपा जन्मिँदै निर्आलोचित र निर्विवाद छैन। २०७९ असार १७ गते गठन भएको रास्वपाले त्यसबेलैदेखि 'राजनीतिक विचारधाराविहीन' को आलोचना खेप्दै आएको छ। नेताहरूले 'जनसेवा' नै पार्टीको विचारधारा भएको जिकिर गर्थे। तर, पछि आलोचना बढ्दै गएपछि २०८० मंसिर १० गते जलेश्वरमा बसेको रास्वपा बैठकले पार्टीको धारणा 'पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली' भन्यो। यस विचारधारा पनि पर्याप्त छलफल र बहसमा नल्याएको संसद्को चौथो ठूलो दल रास्वपा आफैँले राजावादी आन्दोलनबारे नबोलेर 'राजनीतिक विचारधाराविहीन' भन्ने आरोपलाई थप बल पुर्‍याएको छ।

'रवि राजावादी हुन्'

रास्वपाले संस्थागत रूपमा नबोलिरहँदा त्यसका सभापति लामिछाने राजावादी भएको पनि बताइन थालेको छ।

गत फागुन २९ गते रास्वपाका संस्थापक (अहिले निलम्बित) महामन्त्री डा. मुकुल ढकालले लामिछाने पार्टी गठनभन्दा अगाडि राजावादी लाइनमा रहेको भनेर आरोपित गरे।

"राष्ट्रिय स्वतन्त्र पार्टी खोल्नुअघि 'राजतन्त्र'को लाइन लिने कि 'गणतन्त्र'को भनेर रवि दाइ र मबीच छलफल भयो। त्यतिबेला छलफल गर्नका लागि कोही थिएन, जे जति हुन्थ्योहामी दुईबीच नै हुन्थ्यो। राजासँग भेट्न रवि दाइ झापासम्म जानुभयो। राजा र राजाका नजिकका मान्छेसँग उहाँको दुई-चारपटक कुरा पनि भयो। रवि दाइ राजतन्त्रलाई समातेर जाने लाइनमा हुनुहुन्थ्यो," त्यतिबेला ढकालले भनेका थिए।

ढकालको थप स्पष्टीकरण थियो, 'त्यतिबेला मैले रवि दाइलाई भनेँ- राजा ल्याउने वा आउने कुरा हामीले गरेर हुन्न, राजा आफैँले बोल्नपर्छ। जसलाई ल्याउन खोजेको हो, ऊ आफैँले त 'म आउने हो' भन्नुपर्‍यो नि। राजा बोल्न तयार भएनन् तर, त्यसपछि पनि रवि दाइले 'राजतन्त्र'लाई कुनै न कुनै ढङ्गले समेटौँ भनिराख्नुभयो। मैले प्रस्ताव राखेँ- रवि दाइले त्यहीअनुसार राजासँग पनि कुरा गर्नुभयो। मेरो प्रस्ताव थियो- राजाको निजी सम्पत्ति नहुने, जनताले राजालाई पाल्ने, राजाको सम्पत्ति ट्रस्टमा लगेर सकेसम्म सबै जिल्ला नत्र कम्तिमा हालका प्रदेश राजधानीमा एक/एक वटा ठूला स्कूल र अस्पताल खोलौँ। यति घोषणा गरी एकैपटक स्कूल र अस्पतालहरूको शिलान्यास गरौँ। राजाबाट सकारात्मक कुरा आएन। राजाबाट सकारात्मक कुरा नआएपछि गणतन्त्रकै लाइनमा पार्टी खोल्ने निर्णय गर्‍यौँ।'

रास्वपाका निलम्बित संस्थापक महामन्त्री डा. मुकुल ढकाल।

ढकालको यही आरोपलाई थप बल पुग्नेगरी पहिले अमेरिका बसेका कलाकार शैलेश श्रेष्ठले पनि लेखेका छन्। उनले यो भनेका छन् कि लामिछाने अमेरिका हुँदासम्म राजावादी कित्तामै थिए।

'हाम्रा मित्र रवि लामिछाने अमेरिका रहुन्जेल राजावादी कित्तामै हुनुहुन्थ्यो। हामीले मकरतन्त्रको विरोधमा राष्ट्रसङ्घको कार्यालय र वासिङ्गटन डीसीमा ज्ञानेन्द्र शाहको कदमविरुद्धमा विरोध र्‍यालीहरू गर्‍यौं। रविजी भने प्रतिकारवाला राजावादीहरूको जत्था बाल्टिमोर कोटरीका निकटस्थ हुनुहुन्थ्यो,' श्रेष्ठले उद्धृत गरेका छन्।

यी स्वयम् लामिछानेका नभएर दोस्रो व्यक्तिका कुरा हुन्। यहीँबाट लामिछाने 'राजावादी हुन्' भन्न सकिँदैन। तर, अहिले उनले त्यसको जवाफ स्पष्ट रूपमा नदिँदा ढकाल-श्रेष्ठका आरोपहरू धारिलो बनिरहेका छन्। 

किन बोल्दैन रास्वपा ?

कतिपय रास्वपा नेताहरूले व्यक्तिगत रूपमा राजावादी आन्दोलनबारे बोलेका छन्। पुकार बम, गणेश कार्की, सन्तोष परियारलगायतका नेताहरूले व्यक्तिगत तहमा राजसंस्थाले वास्तविक अर्थमा जनसेवा गर्न नसक्ने बताएका छन्।

तर, रास्वपाले संस्थागत रूपमा बोलेको छैन। किन बोल्दैन ? सभापति लामिछानेको सटिक जवाफ छ- रास्वपा आवेग र उत्तेजनामा बोल्ने पार्टी होइन, बेला भएपछि बोल्नेछ।

कार्यवाहक सभापति डोलप्रसाद अर्याल पनि सभापति लामिछानेकै भाषालाई सदर गर्छन्। रास्वपाको संस्थागत धारणा के हो भन्ने नागरिकको जिज्ञासामा अर्यालले भने, 'यसमा पार्टीको संस्थागत धारणा आवश्य कनै पर्दैन नि। आवश्यक परे बोलौँला, सभापतिले जे भन्नुभयो, त्यही हो।'

कार्यवाहक सभापति डोलप्रसाद अर्याल।

रास्वपा संविधानको पक्षमा रहेको उल्लेख गर्दै अर्यालले भने, 'जनता पूर्वराजा ज्ञानेन्द्रको पक्षमा होइन, दलहरूको पक्षमा छन्। जनता दलहरू सुध्रिऊन् भन्ने चाहन्छन्। हामी व्यवस्थाको होइन, अवस्थाको राजनीतिक गर्न आएका हौँ, यही गर्छौँ।'

अन्तिमा पुन: उनले दोहोर्‍याए- यो विषयमा अहिले बोल्न आवश्यक ठानेका छैनौँ, बोल्नुपर्ने आवश्यकता भयो भने बोलौँला। तर, यी 'सिजनल' विषय हुन्।

राजनीतिक विश्लेषक हरि रोका पनि रास्वपाले बोल्नैपर्छ भन्ने ठान्दैनन्। 'गणतन्त्र स्वीकारेर राजनीतिमा आइसकेपछि थप शङ्का-उपशङ्का गर्नुपर्दैन कि,' विश्लेषक रोकाले भने।

उनले नेपालमा गणतन्त्र बाहेक अरु व्यवस्थाको जुञ्जायस नभएको पनि बताए। 'मलाई लाग्दैन कि रास्वपा राजावादी भएर आफूलाई चकनाचुर पार्छ। यहाँ जो राजावादी हुन्छ, ऊ सकिन्छ। फुट्छ। अहिले राप्रपा फुटेझैँ फुट्छ। अध्यक्ष एकातिर, महामन्त्री अर्कोतिर भएको छ राप्रपा। त्यसैले यो देशमा गणतन्त्रवादी हुनुपर्छ,' उनले भने।

खैर, राजा र राजावादीका सक्रियताबारे बोल्ने वा नबोल्ने भन्ने कुराको निर्णय लिन रास्वपा स्वतन्त्र छ। तर, विद्यमान व्यवस्थामै जन्मिएर संसद्को चौथो ठूलो दल बन्दासमेत सोही व्यवस्थाविरुद्धका गतिविधिविरुद्ध नबोल्दा रास्वपाका प्रति जनदबाब सृजना भएकै छ। यो दबाब कहिलेसम्म थेग्छ, त्यो रास्वपाको कुरा हो। तर, कतिपयले भन्न थालेका छन् कि 'रास्वपा माहोल हेरेर चल्ने पार्टी हो, पछि गएर ऊ जता जनमत- त्यतै खुल्न सक्छ!' 

प्रकाशित: ८ चैत्र २०८१ १९:४९ शुक्रबार

#Rabi Lamichhane