पूर्वउपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फेरि पनि 'तपाईं राजावादी हो' भन्ने प्रश्नको जवाफ दिएनन्।
शुक्रबार (आज) जिल्ला अदालत, काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत, पाटन पुगेका लामिछानेलाई पत्रकारहरूले 'तपाईं राजावादी हो' भनेर प्रश्न सोधेका थिए। त्यसमा उनी आफूले बोल्दा दुईतिहाइको सरकारलाई गाह्रो पर्ने भन्दै पन्छिए।
'मलाई बोल्न नलगाउनुहोस्, दुईतिहाइको सरकारलाई गाह्रो होला। मेरो बोल्ने समय आउँछ, जब बोल्छु- धेरैको बोल्ती बन्द हुन्छ,' उनले भने।
त्यसपछि फेरि पत्रकारहरूले उही प्रश्न दोहोर्याए। 'अस्ति नबोल्ने भन्दाभन्दै तपाईंले बोल्नुभएको विषयलाई ठूलो बनाइयो, रवि लामिछाने राजावादी रहेछ भनेर भनियो नि ? रास्वापा लाइन के हो?' पत्रकारहरूले सोधे।
लामिछानेले प्रश्नको सिधा जवाफ नदिएर आफू आवेग र उत्तेजनामा नभएको बताए। 'म आवेग र उत्तेजनामा छैन। किनभने मुलुक एउटा गम्भीर अवस्थामा आएको छ। एउटा जिम्मेवार दलका हिसाबले, नेपाली जनताले भरोसा गरेका दलका हिसाबले र त्यसको नेतृत्वकर्ताका हिसाबले म कुनै आवेग वा उत्तेजनामा अभिव्यक्ति दिने पक्षमा अहिले छैन। यो देशको भविष्य तपाईं हाम्रो पुस्ताको काँधमा आउँदैछ। त्यसकारण यो गम्भीर हुने समय हो,' उनले भने।
पत्रकारले उही विषयमा धारणा मागिरहे। लामिछानेले थपे, 'म तपाईंलाई हेडलाइन दिन्नँ, म तपाईंलाई हेडलाइन दिन्नँ, चिन्ता नगर्नुहोस्। म लाइफलाइनको कुरा गर्दैछु, तपाईं हेडलाइनमा चिन्तित हुनुहुन्छ। यो हेडलाइनमा चिन्ता गर्ने कुरा होइन, यो पक्ष वा विपक्षमा गयो भन्ने कुरा होइन। म एउटै कुरा स्मरण गर्न चाहन्छु तपाईंलाई। मैले पार्लियोमेन्टमा के भनेको थिएँ भने दुईवटा ठूला दलहरू बिना कुनै विषम् परिस्थिति मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ, तपाईंहरूलाई अनुमान छ भनेर भनेको थिएँ। म सबैलाई भन्न चाहन्छु- गेट रेडी फर द रेभ्युलेसन।'
त्यसो त लामिछानेले यसअघि बुटवलमा पनि यही प्रश्नको जवाफ दिएका थिएनन्। धरौटी खारेजीको माग गर्दै फागुन २६ गते बुटवल अदालत पुगेका लामिछानेसँग पत्रकारहरूले राजावादीको प्रदर्शन र गणतन्तप्रतिको धारणाप्रति दोहोर्याएर प्रश्न गरेका थिए। तर, उनले जवाफ दिनुको साटो अन्तैतिर प्रसङ्ग मोडे।
‘लोकतन्त्र जोगाउने उत्तरदायित्व तपाईंहरूको होइन ?’ भनेर पत्रकारहरूले सोधेको प्रश्नको जवाफमा उनले भने, 'मलाई पुर्न भनेर सरकारले यति ठूलो खाल्डो खन्यो कि त्यो खाल्डोमा यी सबै जना जाकिन्छन्।’
यो पनि पढ्नुहोस्
रवि लामिछानको आह्वानः क्रान्तिका लागि तयार हुनुहोस्
प्रकाशित: ८ चैत्र २०८१ १४:५९ शुक्रबार