राजनीति

आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले बुझेनन् : प्रम अाेली

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाल र नेपालीबीचको सद्भाव भड्काउने कुनै पनि गतिविधि सह्य नहुने बताएका छन्। 

एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा साेमबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र नेपाली जनता एकापसमा मिलेर बसेकाले कोही कसैको पनि गलत गतिविधि क्षम्य नहुने स्पष्ट पारे। सामाजिक सद्भाव कायम राख्दै सबै क्षेत्रलाई मिलाएर लैजाने पक्षमा आफू रहेको उनको भनाइ थियो। लोकतन्त्र जनताको व्यवस्था भएकाले यसैमा नै सबैको समृद्धिको सपना पूरा हुने प्रधानमन्त्रीले सुनाए।

वर्तमान सरकारले शुरु गरेको आर्थिक समृद्धि र सुशासनको योजनालाई केही मान्छेले नबुझेको टिप्पणी गर्दै प्रधानमन्त्रीले भन्नुभयो, “मैले रेल चलाउने, पानी जहाज चलाउने कुरा गरेको छु। समृद्धिको विषयलाई प्राथमिकतामा राखेको छु तर केही बुद्धिजीवी जनताको कुरा खोई भन्दै हिँडेका छन्। सरकार जनताका पक्षमा काम गर्छ। समृद्धिको सपना पूरा गरेरै छाड्छ। विकास र समृद्धिको विषयलाई लिएर अनावश्यक बुद्धिविलास नगर्न म आग्रह गर्छु।”

सही नीति, सिद्धान्त, कार्यक्षमता र विचारका आधारमा एमालेप्रति जनताको आकर्षण बढेको र आगामी दिनमा थप आकर्षण थपिने उल्लेख गरे। एमाले नीति र सिद्धान्तको मात्रै टेको लगाएर नबस्ने बरु जनचाहना र देशको आवश्यकतालाई ख्याल गरेर अगाडि बढ्ने स्पष्ट पारे। 

प्रकाशित: १० वैशाख २०७५ १४:०० सोमबार

आर्थिक समृद्धि सुशासनको योजनालाई केही मान्छेले बुझेनन् प्रम अाेली