सत्तारुढ दल नेपाली कांग्रेसले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा नेपाली कांग्रेसको नभएको स्पष्ट पारेको छ ।
केही दिनअघि प्रतिनिधि सभाको बैठकमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले यौन व्यवसायलाई खुला गर्नुपर्ने धारणा राखेका थिए। तर कांग्रेसको मंगलवार बसेको पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख सचेतक घिमिरेले संसदमा यौन व्यवसाय खुला गर्नुपर्ने कुरा उनको नितान्त भएको र पार्टीको आधिकारिक धारणा नभएको बताए। पार्टीले यसबारेमा कुनै धारणा नबनाएको भन्दै पार्टी पंक्ति र जनमानस दुविधामा नपर्न आग्रह गरे। त्यस किसिमको धारणा नराख्न निर्देशन दिइएको पनि बताए।
उनले भने, ‘एउटा विषय बाहिर हाम्रो प्रमुख सचेतकजीले संसदमा बोलेको कुराको टिकाटिप्पणी भइरहेको छ । त्यो नेपाली काँग्रेस पार्टीको आधिकारिक धारणा होइन । त्यस्तो निर्णय नेपाली काँग्रेस पार्टीले लिएको छैन । अहिले कुनै लिने अवस्था पनि छैन । त्यस्तो दृष्टिकोण बनाएको छैन । पार्टी पंक्ति र जनमानस दुविधामा नपरे हुन्छ । प्रमुख सचेतकजीले संसदमा यौन व्यवसायलाई खुला गर्नुपर्छ भन्ने बोल्नुभयो । त्यो उहाँको नितान्त व्यक्तिगत हो । त्यसको खालको धारणा नराख्न भनेका छौँ ।’
बैठकमा राजावादीहरुको प्रदर्शनको बारेमा पनि छलफल भएको प्रवक्ता महतले बताए। सरकार परिवर्तनको कुरा नभएको र सर्वदलीय सरकारको चर्चा नभएको पनि जिकिर गरे।
प्रकाशित: ५ चैत्र २०८१ १८:२५ मंगलबार