नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेस र एमाले दुई प्रमुख पार्टी मिलेर बलियो सरकार चलिरहेको बेला कथित राष्ट्रिय सहमतिको सरकारको बाँसुरी बजाउनु अवसरवाद र सत्तालोलुपताबाहेक केही नभएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै रिजालले यस्तो बताएका हुन्। उनले मुलुकलाई अस्थिर बनाउने र ठूलो संकट आएको मनोविज्ञान निर्माण गर्ने कुराबाट उल्टो प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरूको मनोबल मात्र बढ्ने जिकिर गरे।
उनले भने, 'दुई प्रमुख पार्टी मिलेर राजनीतिक र संख्यात्मक दुवै हिसाबमा बलियो सरकार चलिरहेको बेला कथित राष्ट्रिय सहमतिको सरकारको बाँसुरी बजाउनु अवसरवाद र सत्तालोलुपताबाहेक अरु केही होइन । जसरी पनि मुलुकलाई अस्थिर बनाउने र ठूलो संकट आएको मनोविज्ञान निर्माण गर्ने कुराबाट उल्टो प्रतिगामी र पुनर्उत्थानवादी तत्वहरुको मनोबल मात्र बढ्छ।'
यस्तै संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध आजाव उठाउने जनविरोधी र अरूका गोटीहरूका विरुद्धमा साझा आवाज आवश्यक रहेको बताउँदै रिजालले सरकारलाई अस्थिर बनाउनमा नभइ व्यवस्थालाई बलियो बनाउनमा केन्द्रित हुनुपर्ने उल्लेख गरेका छन्।
उनले लेखेका छन्, 'एउटा कुरा पक्का हो– संघीय लोकतान्त्रिक गणतन्त्रका विरुद्ध आजाव उठाउने जनविरोधी र अरुका गोटीहरुका विरुद्धमा साझा आवाज आवश्यक छ। तर, यसको मतलब सरकारलाई अस्थिर बनाउनमा होइन, ध्यान चाहिँ व्यवस्थालाई बलियो बनाउनमा केन्द्रित हुनुपर्छ। यो प्रचार सुरुदेखि नै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बन्न नदिने भगीरथ प्रयत्न गरेका, बीच–बीचमा सरकार ढाल्न प्रयास गरे पनि असफल भएका र अस्थिरता ल्याउन प्रयासरतहरुका मिथ्या प्रयास मात्रै हो।'
प्रकाशित: ५ चैत्र २०८१ ०६:४० मंगलबार