राष्ट्रपति रामचन्द्र पौडेलको स्वकिय सचिवमा सुशील तिमिल्सेना नियुक्त भएका छन् । राष्ट्रपति पौडेलका नातेदार समेत रहेका तिमिल्सेनालाई चैत १ गते देखि लागुहुने गरी स्वकिय सचिवमा नियुक्त गरिएको हो ।
सहसचिव वा सो सरहको सुविधा पाउने गरी नियुक्त भएका सुशील यसअघि उपसचिव सरहको सुविधासहित पौडेलकै सचिवालयमा कार्यरत थिए । सुशीललाई चिरञ्जीवी अधिकारीको स्थानमा नियुक्ती गरिएको हो । विज्ञ सल्लाहकारसँग असन्तुष्ट अधिकारी पारिवारिक कारण देखाउँदै केही समयअघि अमेरिका गएका छन् ।
पौडेलको सचिवालयबाट हटाएपछि अधिकारीले आफु १८ वर्षसँगै बसेर काम गरेपनि एक पटक पनि हटाउनुअघि नसोधिएको गुनासो गरे । आफु बिदामा अमेरिका आएको र फर्कने तयारीमा रहेको जनाउँदै उनले भने,‘मैले राजीनामा गरेको पनि थिइन र छैन । एक पटक पनि नसोधी हटाएको खबर आउँदा दुख लागेको छ ।’ अधिकारी पछिल्ला वर्षमा पौडेलको स्वकिय सचिवको जिम्मेवारी निर्वाह गर्दै आएका थिए ।
राष्ट्रपति पौडेलको प्रमुख स्वकिय सचिवमा कान्छी छोरी अवज्ञा पौडेल छिन् । सुरुमा सुरेश चालिसेलाई परराष्ट्र विज्ञ सल्लाहकारसहित प्रमुख स्वकिय सचिवको जिम्मेवारी दिइएको थियो । बैकमा कार्यरत अवज्ञालाई पछि प्रमुख स्वकियको जिम्मेवारी दिइएको हो ।
त्यस्तै,राष्ट्रपति पौडेलको वातावरण विज्ञ सल्लाहकारमा ज्वाइ प्रमेश्वर पोखरेल लाई नियुक्त गरेका छन् । राजनीतिक विज्ञ सल्लाहकारको जिम्मेवारी पूर्वप्रधानमन्त्री एबं राप्रपा नेता सूर्य बहादुर थापाका छोरा सुनिल थापा छन् भने कानुन विज्ञ सल्लाहकार बाबुराम कुँवर छन् ।
आर्थिक सल्लाहकार (विज्ञ) चिरञ्जीवी नेपालले गत वर्ष नै राजीनामा दिएपछि किरण पोखरेल प्रेस विज्ञ सल्लाहकारमा बढुवा भएका छन् । त्यसअघि उनी सञ्चार सचिवको जिम्मेवारीसहित शीतल निवास छिरेका हुन् ।
आफु विज्ञ सल्लाहकारमा बढुवा भएपछि रिक्त रहेको ठाउँमा उनले नयाँ मान्छे नियुक्ती गर्न वा अहिले सचिवालयमा कार्यरत मध्यबाट बढुवा गर्न असहयोग गर्दै आएको पोखरेलमाथि आरोप लाग्दै आएको छ ।
राष्ट्रपतिको सचिवालयमा अहिले सहसचिवको जिम्मेवारीसहित सूर्यचन्द्र बस्नेत छन् । साथै शाखा अधिकृतको सुविधासहित खिला कार्कीका साथै पौडेलका नाती र भान्जी बुहारीलाई पनि राखेका छन् । दुरसञ्चार कार्यरत जेठी छोरी शर्मिलालाई काज सरुवामा शीतल निवास आएकी छिन् । राष्ट्रपति पौडेलले भाइको छोरा अनिल पौडेल ९भतीज०लाई युवा स्वरोजगारको उपाध्यक्ष नियुक्ती गर्न खेलकुद मन्त्री तेजुलाल चौधरीलाई दवाव दिइरहेका छन् । कांग्रेस नेता शेखर कोइरालाले उक्त ठाउश्ँमा नेता गुरुराज घिमिरेलाई नियुक्त गर्न आग्रह गरेपनि पौडेलले नमानेको भन्दै चौधरीले अनिलको नामनै अघि बढाएका छन् ।
प्रकाशित: ४ चैत्र २०८१ १३:२८ सोमबार