राजनीति

'तिम्रा बर्बराहटको अन्त्य छिट्टै हुनेछ!'

राजावादी आन्दोलन सञ्चालन गरिरहेका व्यवसायी दुर्गा प्रसाईंले विभिन्न दलका नेताहरूले राजसंस्थाका विषयमा भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएको बताएका छन्।

'गएको २५ गतेपछि नेपालका राजनीतिक दलका विभिन्न नेताहरूबाट नेपालको राजसंस्था र सदस्यहरूका विषयमा अनावश्यक, अप्रमाणित र भ्रमपूर्ण अभिव्यक्ति दिँदै आएको घामजस्तै छर्लङ्ग छ,' प्रसाईंले शनिबार (आज) सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन्।

उनले 'तिम्रा बर्बराहटको अन्त्य छिट्टै हुनेछ' भनेर चेतावनीसमेत दिएका छन्। 'राजसंस्थाको पक्षमा उर्लिएको जनलहरले अत्तालिएकाहरूको बर्बराहटको विषयमा जवाफ दिनेछु,' उनले लेखेका छन्।

अहिले प्रसाईं झापामा छन्। झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा पत्रकार सम्मेलन गर्ने र त्यसको जवाफ दिने उनले उल्लेख गरेका छन्। 'ती बर्बराउँदै हिँड्नेहरूलाई कान, आँखा खोलेर प्रतिक्षा गर्न सुझाव,' उनले लेखेका छन्।

यसअघि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पूर्वराजा ज्ञानेन्द्र शाहका प्रति लक्षित गर्दै 'भाइमारा' र 'मूर्ति चोर' भनेका थिए। 

प्रकाशित: २ चैत्र २०८१ ०८:४६ शनिबार

#Durga Prasain