माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले राजावादी गतिविधिविरुद्ध 'विशेष कार्यक्रम' घोषणा गर्दैछ।
यसका लागि शुक्रबार (भोलि) काठमाडौंको कार्की बैंङ्क्वेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ। उक्त सम्मेलनमार्फत आफूहरूले राजावादी गतिविधिविरुद्ध विशेष कार्यक्रम घोषणा गर्ने एकीकृत समाजवादीका केन्द्रीय प्रचार विभागका उपप्रमुख दामोदर अर्यालले जानकारी दिए।
उनका अनुसार सम्मेलनमा राजावादीहरू किन सलबलाए र त्यसमा जनताको उपस्थिति किन रह्यो भन्नेबारे समीक्षात्मक धारणा सार्वजनिकसँगै विशेष कार्यक्रम घोषणा हुनेछ।
'राजावादीहरू किन सलबलाए र त्यहाँ थोरै भए पनि जनताको उपस्थिति किन देखियो। यसका लागि त सरकार र राजनीतिक दलहरूको पनि कमजोरी होला। यसबारे हामीले संस्थागत धारणा सार्वजनिक गर्नेछौँ र थप अगाडि कसरी अगाडि बढ्ने भन्नेबारे पनि भन्नेछौँ,' अर्यालले भने।
गत फागुन २५ राजावादी शक्तिहरूले शक्ति प्रदर्शन गर्दै पूर्वराजा ज्ञानेन्द्रलाई अभिनन्दन गरेका थिए। झन्डै एक महिना पोखरा बसेर काठमाडौं फर्किएका पूर्वराजाको पक्षमा नाराबाजी गर्नेहरूको सङ्ख्या हजारौंको सङ्ख्यामा थिए। यस घटनालाई लोकतन्त्रवादी एकीकृत समाजवादीजस्ता पार्टीहरूले मिहीन ढङ्गले हेरिरहेका छन्।
प्रकाशित: २९ फाल्गुन २०८१ १४:४३ बिहीबार