राजनीति

कांग्रेसमाथि ओलीको हमला

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई प्रतिक्रियावादीको संज्ञा दिएका छन्। 

आइतबार नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसका अवसरमा राष्ट्रियसभा गृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रतिक्रियावादीबाट कम्युनिष्टहरुलाई निषेधको प्रयास भएको आरोप लगाए।

‘कांग्रेसले २००७ साल देखिनै कम्युनिष्टमाथि निषेध गर्दै आयो। राणा शासन फालियो, लोकतन्त्र आयो भनियो। तर, कम्युनिष्टलाई निषेध गरियो’, उनले भने– ‘अहिले हामी यति मजबुद हुँदा, दुई पार्टीको तालमेल गरेर अत्यधिक बहुमतको  सरकार हामीले बनाउँदा त के के हो भन्ने भइसक्यो। अहिले प्रतिक्रियावादीहरुको हालीमुहाली हुँदा त यस्तो छ भने त्यतिबेला कस्तो हुँदो हो ? अस्ती मात्रै निर्वाचन सक्किएपछि त्रिचन्द्रमा विद्यार्थीहरु प्रदर्शनमा निस्किए। यति निर्मम लाठी चार्ज गरियो, कुनै जिम्मेवार देखिएन्। प्रतिक्रियावादीहरुले भन्ने लोकतन्त्र गर्ने दमनकारी ?’

कम्युनिष्ट पार्टीले २००७ सालदेखि नै क्रान्तिको सुरुवात गरेपनि कांग्रेसले साथ नदिएको उनले गुनासो गरे। ‘कम्युनिष्ट पार्टीले राजा फाले। प्रतिक्रियावादीहरु राजदरबारका पहरेदार भए। कांग्रेसले आन्दोलनकारी शक्तिसँग मिलेर जान चाहेन। राजासँग मिल्यो। कम्युनिष्टले लामो समय लगाएर निरकुंश शक्तिलाई मिल्काई छाड्यो’, उनले भने।

नजानेर, नबुझेर मार्क्सवाद र लेलिनको विरोध गरिएको भन्दै अध्यक्ष ओलीले भने– ‘कतिपयले भन्ने गर्छन मार्क्सवाद, लेलिनवाद मन पर्दैन। गुलाबको फूल कहिले नदेखेकाले गुलाब मनपर्दैन भन्छन्। जसले बुझेको देखेको छैन, थाहा पाएको छैन, तिनले सुनेका भरमा मनपर्दैन भन्छन्।’ 

मार्क्सवादी सिद्धान्तको कार्यान्वयनका क्रममा नेपालमा कम्यसुनिष्ट पार्टी स्थापना भएको स्मरण गर्दै त्यहीबाट सामन्तवादविरुद्ध संघर्ष सुरु भएको उनले बताए। उनले ओलीले, प्रचण्डले नचाहेर पार्टी एकता नरोकिने समेत स्पष्ट पारे। 

प्रकाशित: ९ वैशाख २०७५ ११:१९ आइतबार

कांग्रेसमाथि ओलीको हमला