राजनीति

तीन घण्टापछि एमाले- माओवादी कार्यक्रम, दुई ब्यानर

काठमाडौं- नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेकपा स्थापना दिवस तथा लेनिन जयन्ती संयुक्तरुपमा मनाउने प्रयास गरे पनि यसको सुरुवातमै ढुंगो लाग्यो। कार्यक्रमको लागि बनाइएको ब्यानरमा माओवादी कार्यकर्ताको अनसन्तुष्टि रह्यो। मार्क्स र लेनिनको तस्बिर नभएको भन्दै हलमा नाराबाजी भएपछि समागृहको मञ्चमा टाँसिएको ब्यानर हटाइयो। लगत्तै एमाले कार्यकर्ताको पनि विरोध आयो। उनीहरुले भने पनि भन्न थाले, 'ब्यानर विना कार्यक्रम हुन सक्दैन।' त्यस पछिका तीन घण्टा नयाँ व्यानरको डिजाइनमा विते। सभागृहमा केही नेता कार्यकर्ताहरुलाई सम्झाउनमा व्यस्त थिए भने कार्यकर्ताहरु आफनो तर्कको पुष्ट्याई गर्न।

पार्टी एकता संयोजन समितिले नेकपा स्थापना दिवश संयुक्तरुपमा मनाउने निर्णय गरेको थियो। त्यसै अनुसार दिनको १२ बजे कार्यक्रम आयोजना गरिए पनि ४ घण्टा ढिलो गरि कार्यक्रम सुरु भएको छ। कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्ने कार्यक्रम छ। पार्टी एकताको सन्देश दिने गरि कार्यक्रम आयोजना गर्ने भनिए पनि एउटा ब्यानरमा पुगेर दुई पार्टीका कार्यकर्ता अल्झन पुगेको दृष्य रोचक थियो।  

सुरुको ब्यानमार पुष्पलाल श्रेष्ठ, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर सहित एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको ठूला तस्बिर राखिएको थियो। पछि बनाइएको ब्यानरमा मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर राखिएको छ। नयाँ र पुरानो ब्यानर सहित कार्यक्रम सुरु भएको छ।  

प्रकाशित: ९ वैशाख २०७५ १०:२९ आइतबार

घण्टापछि एमाले- माओवादी कार्यक्रम दुई ब्यानर