राजनीति

पूर्वराजा प्रति ओली: ‘म आउँछु, देश बचाउँछु रे ! के भाको छ र देश बचाउन ?’

<br>

<br>

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्लो सम्बोधनप्रति असन्तुष्टि जनाएका छन्।

आइतबार सुदूरपश्चिम प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले पूर्वराजाको फागुन ६ गते सार्वजनिक अभिव्यक्तिबाट आफू छक्क परेको बताए।

‘संविधान र कानुन नमान्ने प्रवृत्ति बढ्दै गएको छ। म पूर्वराजाको सम्बोधन सुनेर छक्क परेँ,’ ओलीले भने, ‘म आउँछु, देश बचाउँछु रे ! देश के भाको छ र बचाउन ? उहाँहरूले यस्ता अस्थिर गतिविधि गरेर देशलाई अप्ठ्यारोमा पार्दैहुनुहन्छ।’

पूर्वराजा शाह र राजावादी समूहले गर्दै आएको गतिविधिले लोकतान्त्रिक प्रक्रियामा बाधा पुग्ने ओलीको तर्क थियो। ‘सरकार संविधानअनुसार चल्नुपर्छ भन्ने सिकाउनुको सट्टा उहाँले मलाई साथ देऊ भन्दै हुनुहुन्छ’ उनले थपे, ‘राजनीतिमा आउन चाहनुहुन्छ भने स्वागत छ, मलाई साथ दिनु रे ! के कुरामा साथ चाहिएको हो ?’

त्यसक्रममा प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको स्वीकार गर्दै एक-दुई वर्षभित्र सुधार गर्ने प्रतिबद्धता जनाए।

साथै, उनले गेटा मेडिकल कलेजको शैक्षिक कार्यक्रम यसै वर्षदेखि सञ्चालन हुने र आगामी दिनमा मेडिकल विश्वविद्यालयको रूपमा विकास गरिने जानकारी दिए।

सुदूरपश्चिमलाई विकसित प्रदेश बनाउने लक्ष्यसहित उद्यमशीलता प्रवर्द्धन गर्नुपर्ने उनले उल्लेख गरे। त्यसले रोजगारीका अवसर सिर्जना गर्ने उनको दाबी थियो।

प्रकाशित: २५ फाल्गुन २०८१ १८:२० आइतबार