राजनीति

सत्ता र विपक्षी गठबन्धन छायामा बार चुनाव

केन्द्रमा बन्ने गठबन्धन सरकारको प्रभाव प्रदेश सरकारमा मात्रै होइन, विभिन्न स्वतन्त्र भनिएका व्यावसायिक संघसंस्थामा पनि परेको छ। पेसा व्यवसायमा आबद्ध दलनिकट संघसंगठन केन्द्रीय सरकारकै आधारमा गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। नेपाल पत्रकार महासंघ, कर्मचारी ट्रेड युनियन, नेपाल बार एसोसिएनको चुनावमा सत्ता पक्ष र प्रतिपक्षको छाया देखिएको छ। नेपाल पत्रकार महासंघ, कर्मचारी ट्रेड युनियनको निर्वाचन भइसकेको छ भने नपाल बार एसोसिएसनको हुँदै छ।

केन्द्र र प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेको सत्ता गठबन्धन छ। यसै आधारमा विभिन्न पेसागत संघसंगठन र दलनिकट भ्रातृ संगठनले गठबन्धन बनाएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन्।

राजनीतिक दलको निर्णयमा नै पेसागत संघसंगठनले उम्मेदवार बनाउने गरेको बताइन्छ। कानुन व्यवसायीको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा पनि सत्तापक्ष र प्रतिपक्ष राजनीतिक दलको छाया देखिएको एक कानुन व्यवसायीले बताए। ती कानुन व्यवसायीले नेपाल बार एसोसिएसनको निर्वाचन भागबन्डामा सीमित हुन पुगेको गुनासो गरेका छन्। नेपाल बार एसोसिएसन केन्द्रीय कार्यसमितिका लागि चुनाव हुन झन्डै एक महिना बाँकी छ।

निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता भइसकेको छ। कांग्रेसनिकट मानिने डेकोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) र एमालेनिकट प्रगतिशील पेसागत कानुन व्यवसायी संगठन (पिपिएलए) बिच गठबन्धन भएको छ। सत्ता गठबन्धनइतर नेकपा माओवादी केन्द्र, रास्वपा, नेकपा एकीकृत समाजवादीलगायतनिकट कानुन व्यवसायीले छुट्टै प्यानल बनाएर उम्मेदवारी दिएका छन्।

बारको अध्यक्ष पदका लागि नेपाली कांग्रेसनिकट मानिने डिएलएबाट वरिष्ठ अधिवक्ता विजयप्रसाद मिश्र र महासचिवमा एमाले निकट मानिने पिपिएलएबाट केदार कोइरालालाई उम्मेदवार बनाइएको छ। यो समूहलाई ‘लोकतान्त्रिक, प्रगतिशील तथा देशभक्त कानुन व्यवसायी समूह’ भनेर नामकरण गरिएको छ।

यस्तै अर्को समूहबाट माओवादी केन्द्रनिकट मानिने पूर्वमहान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ अध्यक्ष र रास्वपानिकट मानिनिने यज्ञमणि न्यौपानेलाई महासचिवको उम्मेदवार बनाइएको छ। यो समूह पनि प्यानलै बनाएर चुनावमा उत्रिएको छ।

गठबन्धनबाहेक अध्यक्ष पदका लागि राजु कैती, उज्वल घिमिरे, आशिष पौडेलसहित पाँचजनाले उम्मेदवारी दर्ता गरेका छन्। उपाध्यक्षमा सातै प्रदेशका तर्फबाट उम्मेदवारी दर्ता भएको छ। महासचिव र कोषाध्यक्षमा गठबन्धनबाहेक एकएकजनाको उम्मेदवारी परेको छ। अध्यक्षसहित २५ पदका लागि ६२ जनाको उम्मेदवारी दर्ता भएको नेपाल बार निर्वाचन समितिले जनाएको छ।

बारको २७औं केन्द्रीय कार्यसमितिका लागि आगामी चैत २३ गते निर्वाचन हुने कार्यक्रम छ। प्रत्यक्ष मतदानद्वारा कार्यसमिति चयन हुनेछ। अध्यक्ष, महासचिव, कोषाध्यक्षमा एकएकजना र उपाध्यक्षमा सातैवटा प्रदेश र खुला क्षेत्रबाट गरी ८ जना चुनिँदैछन्। सदस्यमा १४ जना निर्वाचित हुनेछन्। सदस्य दलित, मधेसी, मुस्लिम, आदिवासी जनजाति, महिला, खुला क्षेत्रबाट निर्वाचित हुनेछन्।

उम्मेदवारी दर्ता गरेकाले आइतबार नाम फिर्ता लिन पाउनेगरी चुनावी तालिका सार्वजनिक गरिएको छ। जिल्ला अदालत बार, उच्च अदालत बार गरी देशका ३६ वटा जिल्लामा मतदान केन्द्र तोकिएका छन्। देशभरि नेपाल बारका ९० वटा एकाइ र नौ हजार नौ सय ९६ जना मतदाता छन्।

प्रकाशित: २५ फाल्गुन २०८१ ०६:४८ आइतबार

# Nagarik # Nepali Politics # Political party