राजनीति

प्रधानमन्त्रीकाे कार्यक्रममा विरोध गर्ने आशयको स्टाटस लेख्ने चारजना प्रहरी नियन्त्रणमा

सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली संलग्न हुने कार्यक्रममा विरोध गर्ने भन्दै प्रचार गर्ने चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।  काठमाडौंको जोरपाटीमा रहेको नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालले मंगलबार रजत जयन्ती समारोह मनाउँदै छ। सोही कार्यक्रममा प्रधानमन्त्री ओली सम्बोधन गर्न पुगेका छन्। 

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीको विरोध गर्ने भन्दै सामाजिक सञ्जालमा सूचना लेखेका चारजना व्यक्तिलाई काठमाडौं प्रहरीले नियन्त्रणमा लिएको हो। 

नियन्त्रणमा लिएकामा किरण केसी, राजु सुनुवार, राजेश दाहाल र मोहन सिंह रहेको प्रहरीले जनाएको छ। 

‘सम्भावित जोखिमलाई लिएर उहाँहरू चार जनालाई नियन्त्रणमा लिएर होल्डमा राखेका छौँ,’  जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराले भने। 

प्रकाशित: १३ फाल्गुन २०८१ १५:४८ मंगलबार

#KP Sharma Oli