राजनीति

प्रदेश अधिवेशनमा 'सिन्डिकेट' लगाइएको भन्दै पत्रकार महासंघमा तालाबन्दी

काठमाडौं-  नेपाल पत्रकार महासंघको प्रदेश निर्वाचनमा सिन्डिकेट लगाइएको भन्दै महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ।

महासंघको बैशाख २२ गते हुने निर्वाचनको लागि प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले प्रदेशका पदाधिकारी र सदस्यको भागवण्डा गरेका थिए। स्वतन्त्र र अन्य संगठनहरुले त्यसको विरोध गर्दै आएका छन्। पेशागत संगठनमा  सिन्डिकेट लादिएको भन्दै महासंघको केन्द्रीय कार्यालय लगायत विभिन्न जिल्ला कार्यालयमा तालाबन्दी भएको हो।

यस अघि प्रदेश निर्वाचन हुँदै गर्दा महासंघलाई साझा पेशागत संगठन हुन नदिन खोजिएको भन्दै क्रान्तिकारी पत्रकार संगठन, प्रेस सोसाइटी नेपाल, प्रगतिशील पत्रकार संघ, क्रान्तिकारी पत्रकार महासंघ, मिडिया नेपाल र संघीय प्रेस फोरमले संयुक्त विज्ञप्ती जारी गर्दै विरोध गरेका थिए।

पत्रकार महासंघका सिचव रमेश विष्टले महासंघको आसन्न प्रदेश अधिवेशनको सिलसिलामा महासंघको केन्द्रीय कार्यालय सहित विभिन्न शाखामा केही संगठनको नाममा तालाबन्दी हुनु दु:खद भएको बताएका छन्।

महासंघको केन्द्रीय समितिको निर्णय अनुसार आन्दोलनरत पक्षले उठाएका मतदाता नामावली लगायतका विभिन्न माग सम्बोधन भैसकेको अवस्थामा महासंघमा नै तालाबन्दी हुनु दुखद् भएको उनले विज्ञप्ती मार्फत जनाएका छन्। भागवण्डामा आधारित निर्वाचनको महासंघ मौन समर्थक बसेको आरोप लागिरहेको बेला महासंघले भने तालाबन्दी हुनु प्रेस स्वतन्त्रताकै बर्खिलाप भएको बताएको छ।

 

प्रकाशित: ७ वैशाख २०७५ ०९:३३ शुक्रबार

प्रदेश अधिवेशनमा सिन्डिकेट लगाइएको भन्दै पत्रकार महासंघमा तालाबन्दी