राजनीति

‘सहकार्य नगर्दा ठुलो थियौँ, कांग्रेस–एमालेसँग जोसँग सहकार्य गर्‍यौँ उही ठुला भए’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेस र एमालेसँग सहकार्य गर्दा चुनावमा माओवादी ठुलो हुन नसकेको बताएका छन्।   ‘जनतासँग माओवादी, तराई मधेस अभियान’को सोमबार झापामा सुरुवात कार्यक्रममा बोल्दै दाहालले यस्तो बताएका हुन्। 

‘अब हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौँ । माओवादी आफ्नै खुट्टामा उभिन सक्दैन भन्ने एउटा हल्ला, एउटा दुष्प्रचार गरिएको थियो,’ दाहालले भने, ‘हाम्रो पार्टीले भन्यो हामीले सहकार्य गरेर हामी ठुलो भएनौँ।’ कांग्रेससँग सहकार्य गर्दा होस् वा एमालेसँग सहकार्य गर्दा माओवादी दुवै अवस्थामा ठुलो हुन नसकेको उनले बताए। ‘बरु हामीले जो सँग सहकार्य ग¥यौँ त्यही पार्टी ठुलो भयो। कहिले कांग्रेस ठुलो भयो, कहिले एमाले ठुलो भयो,’ उनले भने।

माओवादी जति बेला सहकार्यमा थिएन त्यति बेलै ठुलो पार्टी रहेको अध्यक्ष दाहालले स्मरण गरे । उनले भने, ‘हामी जति बेला तिमिहरूसँग सहकार्यमा थिएनौँ, हामी सबैभन्दा ठुलो थियौँ यो देशको ।’  त्यस कारण यस पटक संकल्प गरेर आफ्नै खुट्टामा उभिएर आफ्नै जनताको बलमा चुनाव लड्ने तयारी गरेको उनले बताए। 

प्रकाशित: १२ फाल्गुन २०८१ १६:४२ सोमबार

#Prachand #KP Sharma Oli #Sher Bahadur Deuba