राजनीति

माओवादी नेतृत्वको सरकारले जनयुद्धका सहिदको सम्मानमा महत्वपूर्ण काम गर्‍यो : दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सहिद परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गरेका छन्।अध्यक्ष दाहालले शुक्रबार तनहुँको दुलेगौडामा सहिद परिवारसँग भेटघाट तथा अन्तर्क्रिया गरेका हुन्।

भेटमा दाहालले माओवादी नेतृत्वको पछिल्लो सरकारले जनयुद्धका सहिद तथा बेपत्ताहरूको सम्मान, राहत लगायतका क्षेत्रमा महत्वपूर्ण काम गरेको बताए।

उनले भने, 'हामीले सरकारको नेतृत्व गर्दा जनयुद्ध र जनयुद्धका सहिद बेपत्ताको सम्मानमा महत्वपूर्ण काम गर्‍यौँ। जनयुद्धलाई राष्ट्रिय दिवसको मान्यता दिने, जनयुद्धका सहिदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्‍यौँ। हाम्रै पहलमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी कानुन टुंगो लगाएका छौँ। आयोग बनाएर बाँकी काम पूरा गर्न संघर्ष गर्छौं।'

भेटमा सहिद परिवारका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डले सहिद र बेपत्ताको सम्मान, परिवारको संरक्षण र राहतमा खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्दै आयोग बनाएर बाँकी काम टुंगाउन ध्यानाकर्षण गराएका थिए।

प्रकाशित: ९ फाल्गुन २०८१ १२:०२ शुक्रबार

#Pushpa Kamal Dahal