नेसपा (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले गत निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका लागि आफ्नो निर्वाचन क्षेत्र गोरखा नं. २ छाड्नु गम्भीर गल्ती भएको बताएका छन्।
आइतबार (आज) सुरु भएको पार्टीको पहिलो महाधिवेशनमा 'नयाँ युगको नयाँ कार्यभार : वैकल्पिक राजनीतिको औचित्य र आधार' शीर्षकमा प्रेषित ३२ पृष्ठ लामो दस्ताबेजमा उनले यो बताएका हुन्।
'२०७९ असारमा नेपाल समाजवादी पार्टीको रूपमा पुनर्गठित गरिसकेपछि २०७९ मंसिरमा भएको आम निर्वाचनमा माओवादी केन्द्रसँग साझा चुनाव चिह्न लिनु र निर्वाचन क्षेत्र गोरखा २ प्रचण्डलाई छोड्नु गम्भीर गल्ती थियो,' उनले आफ्नो दस्ताबेजमा भनेका छन्, 'भर्खर एमालेबाट अलग्गिएपछि अप्ठ्यारोमा परेको माओवादी केन्द्र र भर्खर नेसपाको रूपमा पुनर्गठित भएको बेला अलमलमा परेका हामीबीचको हतारो निर्णयको दुष्परिणाम थियो त्यो चुनावी तालमेल।'
यस्तै उनले मधेसकेन्द्रित दलहरूसँग पार्टी एकता गरेर पनि आफूहरूले गल्ती गरेको औँल्याएका छन्। 'जनता समाजवादी पार्टी बनायौँ। हाम्रो मनसाय पवित्र थियो। हिमाल, पहाड, मधेस जोडेर हामी राष्ट्रिय एकता समृद्ध गर्न चाहन्थ्यौँ। एकातिर त्यो प्रयोग लामो समय टिकेन। अर्कोतिर पुरानै सोच र शैली भएकाहरूसँगको एकताले हाम्रो वैकल्पिक राजनीतिक पहिचान र स्वच्छ नैतिक छविलाई समेत प्रश्न गर्ने ठाउँमा पुऱ्याइदियो,' भट्टराईले भनेका छन्।
पछिल्लो संसदीय निर्वाचनमा माओवादी अध्यक्ष दाहालका लागि भट्टराईले आफ्नो निर्वाचन क्षेत्र गोरखा २ छाडिदिएका थिए। त्यस्तै माओवादीको चुनाव चिह्न हँसिया हथौडाबाट नेसपाका नेताहरूले चुनाव लडेका थिए।
प्रकाशित: २७ माघ २०८१ २०:०६ आइतबार