राजनीति

घरपायक स्थानमा कर्मचारीलाई खटाइने : मन्त्री पण्डित

विराटनगर (रासस)- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले स्वेच्छिक अवकाश रोज्ने कर्मचारीलाई घरपायक हुने कार्यालयमा खटाउने बताएका छन्।

विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले तीन तहमा कर्मचारी खटाउनुपर्ने भएकाले सरकारले स्वेच्छिक अवकाश हाललाई स्थगित गरेको बताए।

मन्त्री पण्डितले कर्मचारी स्वेच्छिक अवकाश स्थगित गरिसकेकाले अब सबै कर्मचारीले खटाएको कार्यालयमा गई जनताको सेवा गर्नुपर्नेमा जोड दिए। उनले दक्ष र अनुभवी कर्मचारीको सहयोगबाट नै मुलुकको आर्थिक समृद्धिको अभियानमा सफल हुने बताए

मन्त्री पण्डितले स्थानीय निकायमा कर्मचारीको कमीका कारण सेवाग्राहीले समस्या भोग्नुपरेको बताउँदै दक्ष र अनुभवी कर्मचारीलाई स्वेच्छिक अवकाश दिने पक्षमा सरकार नभएको स्पष्ट पारे।

उनले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका एक हजार २५० कर्मचारीले निवृत्तीभरण भइसकेको जानकारी दिए।

 

प्रकाशित: ५ वैशाख २०७५ ०९:०७ बुधबार

घरपायक स्थानमा कर्मचारीलाई खटाइने मन्त्री पण्डित