राजनीति

सैन्य आधार तालिममा प्रधानसेनापति, २४९ प्रशिक्षार्थी बने सिपाही

काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्रीले रुपन्देहीको श्री नं.२ तालिम गणमा सञ्चालन भएको सि.सं.४ सैन्य आधार तालिमको अन्तिम दलेल कवाजको मंगलबार निरीक्षण गरेका छन्।

कवाज निरीक्षण पश्चात समारोहलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षत्रीले नेपाली सेनाको सिपाही दर्जामा नियुक्त भएकालाई बधाई तथा सफल सैनिक जीवनको शुभकामना व्यक्त गरे। उनले आफ्ना सन्तती तथा प्रियजनलाई नेपाली सेनामा प्रवेश गराई देश र जनताको सेवा गर्न प्रोत्साहित गर्ने अभिभावक तथा परिवारजनलाई आभारसहित धन्यवाद दिए।

जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार उक्त सैन्य आधार तालिमका २ सय ४९ जना शिक्षार्थीले अन्तिम दलेल कवाज प्रदर्शन गरेका थिए। सो तालिममा प्रथम हुने सैन्य केशर बहादुर बिष्टलाई प्रधानसेनापति क्षत्रीले खुकुरी र प्रमाण पत्र समेत प्रदान गरे।

अन्तिम दलेल कवाजको निरीक्षण सम्पन्न गरी प्रधानसेनापति क्षत्री मंगलबारै काठमाडौं फर्किएको निर्देशनालयले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०७५ १२:३२ मंगलबार

सैन्य आधार तालिममा प्रधानसेनापति २४९ प्रशिक्षार्थी बने सिपाही